इरानका सर्वोच्च नेताको ऐतिहासिक घोषणा:सर्वोच्च नेता खामेनीले प्रत्यक्ष वार्तालाई दिए समर्थन

इनेप्लिज २०८३ असार ४ गते १८:४३ मा प्रकाशित

इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न समर्थन जनाएका छन्। 

सरकारी सञ्चारमाध्यममार्फत बिहीबार राति सार्वजनिक गरिएको आफ्नो सन्देशमा उनले भविष्यमा हुने आमनेसामनेको वार्ताले इरानले आफ्नो अडान त्यागेको अर्थ नलाग्ने स्पष्ट पारे।

खामेनीले भने, “भविष्यमा हुने प्रत्यक्ष वार्ताको अर्थ शत्रुको विचार स्वीकार गर्नु होइन।” उनका अनुसार वार्ता भनेको आफ्नो देशको हित र अडानलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने माध्यम हो।

हालै इरान र अमेरिकाबीच लामो समयदेखि जारी तनाव र सैन्य गतिविधि अन्त्य गर्ने उद्देश्यका साथ एक महत्वपूर्ण सम्झौता भएको थियो। यो सम्झौतापछि खामेनीको यो पहिलो सार्वजनिक प्रतिक्रिया हो। 

यद्यपि, प्रत्यक्ष वार्तालाई समर्थन गरे पनि इरान आफ्नो राष्ट्रिय हित र नीतिमा अडिग रहने सन्देश उनले दिएका छन्। यसले वार्ता हुनेछ, तर इरानले आफ्नो निर्णय र सिद्धान्तमा कुनै सम्झौता नगर्ने संकेत गरेको विश्लेषण गरिएको छ।

यसैबीच, युद्धको सुरुवातमा भएको एक आक्रमणमा घाइते भएपछि खामेनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। 

त्यसयता उनले अधिकांश सन्देश सरकारी सञ्चारमाध्यममार्फत नै सार्वजनिक गर्दै आएका छन्।

विश्व समुदायले अहिले इरान र अमेरिकाबीच सुरु हुन सक्ने प्रत्यक्ष वार्तालाई चासोका साथ हेरिरहेको छ। 

प्रतिक्रिया