
वासिङ्टन डी.सी.। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजपरिवारले अमेरिकी रक्षा बिभागलाई उपहारस्वरूप दिएको नयाँ बोइङ ७४७ विमान सार्वजनिक गरेका छन्। यो विमान केही वर्षका लागि ‘एयर फोर्स वन’अर्थात् अमेरिकी राष्ट्रपतिको आधिकारिक विमानका रूपमा प्रयोग हुनेछ।
संयुक्त आधार एन्ड्र्युजमा आयोजित कार्यक्रममा ट्रम्प नयाँ विमानबाट ओर्लिँदा देशभक्तिपूर्ण गीत गड ब्लेस द युएसए बजाइएको थियो। उनले यो विमान हाल प्रयोग भइरहेका राष्ट्रपतिका विमानभन्दा झन्डै दोब्बर ठूलोभएको दाबी गरे।
ट्रम्पका अनुसार यो विमान संसारकै सबैभन्दा विलासी विमानमध्ये एक हो। करिब १४ वर्ष पुरानो भए पनि यसको अवस्था लगभग नयाँ जस्तै रहेको उनले बताए। उनका अनुसार विमानले अहिलेसम्म करिब ८०० घण्टा मात्र उडान भरेको छ, जसलाई उनले “लगभग नयाँ” विमानको संज्ञा दिए।
यो विमानको अनुमानित मूल्य ४० करोड अमेरिकी डलर रहेको छ। कतारको राजपरिवारले यसलाई गत वर्ष अमेरिकी रक्षा बिभागलाई उपहार दिएको थियो। त्यसपछि अमेरिकी वायुसेनाले टेक्ससमा यसको सुरक्षा, सञ्चार प्रणाली तथा राष्ट्रपतिको यात्राका लागि आवश्यक अन्य प्रविधि जडान गर्दै परिमार्जन गरेको हो।
ट्रम्पले नयाँ विमानले पहिलेको भन्दा धेरै टाढासम्म र छिटो उड्न सक्ने दाबी गरे। उनका अनुसार यसमा बारम्बार इन्धन भर्न रोकिनु पर्दैन, जसले लामो दूरीको यात्रा अझ सहज बनाउँछ। उनले विमानलाई अमेरिकाको शक्ति र प्रतिष्ठाको प्रतीक भएको पनि बताए।
ट्रम्पले विमानको पछाडिको भागमा रहेको अमेरिकी झण्डाको नयाँ लहरिएको डिजाइनको पनि प्रशंसा गरे। उनका अनुसार यसले अमेरिका अझ बलियो र गर्विलो राष्ट्र भएको सन्देश दिन्छ।
हाल प्रयोग भइरहेका दुईवटा ‘एयर फोर्स वन’ विमानमध्ये एउटा मर्मतमा रहेको छ भने अर्को विमान नयाँ बिमानसँगै प्रयोग गरिनेछ। ट्रम्पले हालै युरोपमा सम्पन्न जी–७ शिखर सम्मेलनमा प्रयोग गरिएको पुरानो विमानको त्यो अन्तिम औपचारिक यात्रा भएको बताए। उनका अनुसार ती विमानलाई मर्मतपछि संग्रहालयमा राखिने योजना छ।
यद्यपि, कतारबाट यति महँगो विमान उपहार स्वीकार गरिएको विषयलाई लिएर केही सांसद र नैतिकता विज्ञहरूले प्रश्न उठाएका छन्।
ट्रम्पले भने अमेरिका नयाँ बोइङ ७४७ विमान तयार हुन ढिलो भएकाले आफूले कतारका अमिरसँग केही समयका लागि यो विमान प्रयोग गर्न अनुमति मागेको बताएका छन्। बोइङ कम्पनीले निर्माण गरिरहेका दुई नयाँ राष्ट्रपतीय विमान सन् २०२८ मा तयार हुने अपेक्षा गरिएको छ। त्यसबेलासम्म यही विमानले अमेरिकाका राष्ट्रपतिको आधिकारिक विमानको जिम्मेवारी सम्हाल्नेछ।
प्रतिक्रिया