
अमेरिका र इरानबीच भएको अन्तरिम सम्झौतापछि युद्धविरामको आशा बढे पनि दक्षिणी लेबनानमा शनिबार पनि भीषण लडाइँ जारी रहेको एपीले जनाएको छ । इजरायली हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ, जसमा दुई बालबालिका पनि रहेका छन्। स्थानीय अधिकारीहरूका अनुसार केही मानिस अझै भग्नावशेषमा फसेका छन्।
लेबनानको सरकारी समाचार निकाय (एजेन्सी)का अनुसार आक्रमणहरू नाबातियेहर आसपासका गाउँहरूमा भएका हुन्। शुक्रबार भएको भीषण हिंसामा कम्तीमा ४७ जनाको मृत्यु भएको थियो भने चार इजरायली सैनिक पनि मारिएका थिए।
इजरायली सेनाले रातभर हेजबुल्लाहले ५० भन्दा बढी रकेट र अन्य क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाही गरिएको जनाएको छ। यता इजरायलका अमेरिकास्थित राजदूतले हेजबुल्लाहले आक्रमण रोक्ने हो भने इजरायल तत्काल युद्धविरामका लागि प्रतिबद्ध रहेको बताएका छन्।
हेजबुल्लाहले पनि इजरायलले युद्धविरामको पालना गरे आफूहरूले पनि गर्ने जनाएको छ। तर औपचारिक रूपमा युद्धविराम लागू भइसकेको पुष्टि भने गरेको छैन। कतार, अमेरिका र इरानले दुवै पक्षबीच सहमति गराउने प्रयास जारी राखेका छन्।
यसबीच, अमेरिका–इरानबीच हालै भएको अन्तरिम सम्झौताले हर्मुज जलडमरूमध्य पुनः खुलाउने र इरानको आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्ने योजना अघि सारेको थियो। तर लेबनानमा जारी हिंसाले उक्त सम्झौतालाई पनि जोखिममा पारेको छ। स्विट्जरल्यान्डमा तय भएको अमेरिका–इरान वार्ता स्थगित गरिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलमाथिको खतरा समाप्त नभएसम्म दक्षिणी लेबनानमा सेना रहने बताएका छन्। हेजबुल्लाहले भने इजरायलले लेबनानबाट सेना फिर्ता नगरेसम्म आक्रमण नरोकिने अडान दोहोर्याएको छ।
शनिबार दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा धुवाँका मुस्ला देखिएका थिए। एक गाउँमा भएको आक्रमणमा आमा, बुबा र दुई बालबालिकासहित एउटै परिवारका चार सदस्यको मृत्यु भएको छ। अन्य स्थानहरूमा मानव रहित यान (ड्रोन )आक्रमणबाट एक भटभटे (मोटरसाइकल) चालक र एक लेबनानी सैनिक पनि मारिएका छन्।
यता इरानी अधिकारीहरूले स्विट्जरल्यान्डको वार्तामा सहभागी हुने यात्रा स्थगित गरेका छन्। उनीहरूले लेबनानमा हिंसा रोकिएपछि मात्रै वार्ता अघि बढ्न सक्ने बताएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि आफ्नो स्विट्जरल्यान्ड भ्रमण स्थगित गरेका छन्।
प्रतिक्रिया