हर्मुज जलडमरूमध्यमा फेरि बढ्न थाल्यो जहाजको आवागमन, व्यापार विस्तारै सामान्य बन्दै

इनेप्लिज २०८३ असार ४ गते ११:०५ मा प्रकाशित

इरान–अमेरिका युद्धविरामको वातावरण बनेसँगै विश्वको सबैभन्दा महत्वपूर्ण समुद्री व्यापारिक मार्ग हर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन विस्तारै बढ्न थालेको छ। सिबिएसन्यूजले जनाए अनुसार बिहीबार बिहान कम्तीमा १० वटा व्यावसायिक जहाज उक्त जलमार्ग पार गरेको र थप ६ वटा जहाज फारसी खाडीबाट बाहिरिने तयारीमा रहेको अन्तर्राष्ट्रिय जहाज निगरानी प्रणालीले जनाएको छ।

यद्यपि जहाजको संख्या बढ्न थाले पनि यो अझै युद्धअघि दैनिक आवतजावत गर्ने करिब १३५ वटा जहाजको औसतभन्दा निकै कम हो। हर्मुज जलडमरूमध्य फारसी खाडीमा प्रवेश र बाहिरिने एकमात्र प्रमुख समुद्री मार्ग भएकाले विश्वभर तेल, प्राकृतिक ग्यास र अन्य सामानको आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।

आवतजावत गर्ने जहाजमध्ये कतारएनर्जीद्वारा सञ्चालन गरिएको फ्रान्सको झण्डा बोकेको तरल प्राकृतिक ग्यास (एलएनजी) बोक्ने जहाज ‘मराइख’पनि रहेको छ। त्यसैगरी इटालीको ग्रिमाल्डी समूहको सवारीसाधन बोकेको अर्को जहाज पनि खाडीबाट बाहिरिएको छ। यी दुवै जहाज युद्ध सुरु भएपछि फारसी खाडीमै लामो समयदेखि रोकिएका सयौं जहाजमध्येका हुन्।

यता हङकङ र चिनियाँ प्रतिष्ठानका केही मालवाहक तथा तेल बोक्ने जहाजहरूले अझै पनि आफ्नो जहाजमा चिनियाँ चालकदल रहेको सूचना प्रसारण गरिरहेका छन्। युद्धको सुरुवातमा इरानले अमेरिका र इजरायलसँग सम्बन्धित जहाजलाई निशाना बनाउने चेतावनी दिएपछि धेरै जहाजहरूले सुरक्षा रणनीतिका रूपमा यस्तो जानकारी सार्वजनिक गर्न थालेका थिए।

यसैबीच, अमेरिकी नौसैनिक नाकाबन्दी पार गरेका इरानमाथि प्रतिबन्ध लगाइएका केही तेल ट्यांकरहरू अझै पनि इरानी बन्दरगाहतर्फ आफ्नो यात्रा जारी राखिरहेका छन्। यी गतिविधिले युद्धको तनाव केही कम हुँदै गएको संकेत दिए पनि क्षेत्रको सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन।

तस्बिर : कृतिम बुद्धिमत्ता

प्रतिक्रिया