मस्कोमा युक्रेनको भीषण मानव रहित यान हमला, तेल प्रशोधन केन्द्रमा आगलागी

जेलेन्स्कीले भने– ‘अब युद्ध अन्त्य गर्ने समय आएको छ’

इनेप्लिज २०८३ असार ४ गते १०:२१ मा प्रकाशित

युक्रेनले बिहीबार रुसको राजधानी मस्कोसहित १२ भन्दा बढी क्षेत्रमा व्यापक मानव रहित यान (ड्रोन )आक्रमण गरेको छ। आक्रमणका क्रममा मस्कोस्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा विस्फोट भएपछि आकाशभरि कालो धुवाँ फैलिएको थियो।

रुसको रक्षा मन्त्रालयका अनुसार युक्रेनले प्रहार गरेका कम्तीमा ५५५ वटा मानव रहित यान (ड्रोन)रुसको हवाई सुरक्षाले खसालेको दाबी गरेको छ। तीमध्ये करिब १८० मानव रहित यान (ड्रोन )मस्कोतर्फ आउँदै गर्दा नष्ट गरिएको मस्कोका नगर प्रमुख (मेयर )सर्गेई सोब्यानिनले बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणको जिम्मेवारी लिँदै एक साताभित्र दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाइएको बताएका छन्। उनका अनुसार उक्त केन्द्रले रुसी सेनालाई इन्धन र अन्य सहयोग उपलब्ध गराउँदै आएको छ। उनले सामाजिक सञ्जालमार्फत यो आक्रमण रुसले युक्रेनका शहर र नागरिकमाथि गरिरहेको निरन्तर हमलाको उचित जवाफ भएको उल्लेख गर्दै “अब यो युद्ध अन्त्य गर्ने समय आएको छ” भनेका छन्।

यता रुसले पनि बिहीबार राति युक्रेनमाथि क्षेप्यास्त्र र मानव रहित यान (मिसाइल र ड्रोन )आक्रमणलाई निरन्तरता दिएको छ। युक्रेनी सेनाका अनुसार रुसले सातवटा लामो दूरीका क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल) र २३९ वटा मानव रहित यान (ड्रोन) प्रहार गरेको थियो। युक्रेनले तीमध्ये २१६ वटा क्षेप्यास्त्र र मानव रहित यान (मिसाइल र ड्रोन) नष्ट गरेको दाबी गरेको छ।

यसैबीच, मस्कोका केही आवासीय क्षेत्रमा पनि मानव रहित यान खस्दा भवनहरूमा क्षति पुगेको र केही मानिस घाइते भएको रुसी अधिकारीहरूले जनाएका छन्। रुसले भने युक्रेनी सेनाले प्रयोग गर्ने इन्धन तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको जनाएको छ।

चार वर्षभन्दा बढी समयदेखि जारी रुस–युक्रेन युद्ध अझै शान्त हुने संकेत नदेखिए पनि दुवै पक्षले सैन्य कारबाहीसँगै कूटनीतिक प्रयासलाई पनि निरन्तरता दिएका छन्।

प्रतिक्रिया