
गत आइतबार राति रुसले युक्रेनको राजधानी किभ र अन्य सहरहरूमा अहिलेसम्मकै भीषण क्षेप्यास्त्र र मानव रहित यान ?(मिसाइल र ड्रोन )आक्रमण गरेको छ। यस ठुलो हमलामा परेर राजधानी किभमा ५ जना र खार्किभ सहरमा ५ जना गरी कम्तीमा १० जना सर्वसाधारणको ज्यान गएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसले रातभरमा कुल ७० वटा क्षेप्यास्त्र (मिसाइल )र ६११ वटा आधुनिक मानव रहित यान (ड्रोन)हरू प्रहार गरेको थियो।
युक्रेनी सेनाले आकाशमै ५० वटा क्षेप्यास्त्र र ५८२ वटा मानव रहित यान अर्थात् ड्रोनलाई नष्ट गरिदिए पनि बाँकी क्षेप्यास्त्रहरू युक्रेनका ४२ भन्दा बढी ठाउँमा खसेका थिए। यस आक्रमणले किभको मुटुमा रहेको ११औँ शताब्दीको ऐतिहासिक चर्च अर्थात् गिर्जाघर ‘किभ पेचेर्स्क लाभ्रा’ मा ठुलो क्षति पुर्याएको छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको यो प्रसिद्ध गिर्जाघरको छानामा क्षेप्यास्त्र लागेर आगो सल्किएको थियो, जसलाई पछि युक्रेनी उद्धार टोलीले निभाएका थिए। राष्ट्रपति जेलेन्स्कीले यसलाई “इसाई संस्कृति विरुद्ध रुसको ठुलो अपराध” र विदेश मन्त्रीले “बर्बरता” को संज्ञा दिएका छन्।
यता रुसको रक्षा मन्त्रालयले आफूले केवल युक्रेनका सैन्य र हतियार उद्योगहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ। उसले गिर्जाघरमा लागेको आगो रुसका कारण नभई युक्रेनले चलाएको अमेरिकी ‘पेट्रियट’ क्षेप्यास्त्र प्रणालीको गल्तीले भएको आरोप लगाएको छ, तर यसको कुनै प्रमाण दिएको छैन।
यसैबीच, युक्रेनले पनि रुसको राजधानी मस्कोलाई लक्षित गरी लगातार आठौँ दिन मानव रहित यान (ड्रोन )प्रहार गरेपछि रुसका धेरै विमानस्थलहरू बन्द गर्नुपरेको थियो।
यो भयानक आक्रमण यस्तो समयमा भएको छ, जब अमेरिका, फ्रान्स, र बेलायत जस्ता शक्तिशाली देशहरूको समूह ‘जी-७’ को वार्षिक बैठक फ्रान्समा सुरु हुँदैछ।
राष्ट्रपति जेलेन्स्कीले फ्रान्स पुगेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्व नेताहरूलाई भेट्ने कार्यक्रम छ। उनले रुसलाई रोक्न विश्व समुदायसँग थप कडा दबाब र आधुनिक एन्टि-मिसाइल शत्रुलाई मार हान्ने क्षेप्यास्त्र हतियारको माग गरेका छन्।
प्रतिक्रिया