
सोमबार भएको विश्वकप भकुण्डोको आफ्नो पहिलो खेलमा साउदी अरब र उरुग्वेले १–१ गोल गर्दै बराबरीमा खेल समाप्त भएको छ । खेलको ४१औँ मिनेटमा साउदीका अब्दुलेल्लाह अल-अम्रीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको उत्तरार्धमा उरुग्वेका म्याक्सी अराउजोले ८०औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।
मध्यान्तर पश्च्यात उरुग्वेले खेलमा पूर्ण नियन्त्रण बनाएको थियो। उरुग्वेले गोलका लागि २८ पटक प्रयास गर्दा साउदीले मात्र ७ पटक प्रयास गरेको थियो। साउदीका गोलकिपर मोहम्मद अल-ओवैसले उत्कृष्ट बचाउ गर्दै उरुग्वेका चर्चित खेलाडीहरूका धेरै प्रहारहरू असफल बनाइदिए। अन्ततः अराउजोले नजिकैबाट बललाई जाली चुमाउँदै उरुग्वेको संकट टारे। फ्लोरिडाको मायामीको रंगशालामा अराउजोको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो।
साउदी अरबले सन् २०२२ को विश्वकपमा पनि पहिलो खेलमै लियोनल मेस्सीको अर्जेन्टिनालाई २–१ ले हराएर संसारलाई चकित पारेको थियो। यसपटक पनि साउदीका समर्थकहरूले रंगशालामा आफ्नो टोलीको कडा उत्साह बढाएका थिए।
यो नतिजासँगै समूह ‘एच’ को समीकरण निकै रोचक बनेको छ। यही समूहको अर्को खेलमा पहिलो पटक विश्वकप भकुण्डो खेलिरहेको सानो देश केप भर्डले बलियो टोली स्पेनलाई शून्य–शून्य (०–०) को बराबरीमा रोकेर सबैलाई आश्चर्यमा पारेको छ।
प्रतिक्रिया