लगातार दोस्रो रात इरानमाथि आक्रमण: अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यहरू ध्वस्त पारेको दाबी

इनेप्लिज २०८३ जेठ २८ गते १०:२८ मा प्रकाशित

अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको मध्य कमाण्डले बिहीबार जारी गरेको वक्तव्यमा अमेरिकी सेनाले “आत्मरक्षाका लागि” इरानका धेरै महत्वपूर्ण लक्ष्यहरूमा सफलतापूर्वक हमला सम्पन्न गरेको बताएको छ।

सेन्टकमका अनुसार आक्रमण इरानका सैन्य निगरानी प्रणाली, सञ्चार संजाल (नेटवर्क) तथा हवाई प्रतिरक्षा केन्द्रहरूलाई लक्षित गरेर गरिएको थियो। अमेरिकी अधिकारीहरूले यी स्थानहरू अमेरिकी सैनिक र अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको सुरक्षाका लागि खतरा बनेको दाबी गरेका छन्।

वक्तव्यमा अमेरिकी मरीन कोर्प्स, वायुसेना र नौसेनाले अत्याधुनिक तथा सटीक हतियार प्रयोग गरी ती लक्ष्यहरूमा प्रहार गरेको उल्लेख गरिएको छ। अमेरिकाले यी कारबाहीहरू इरानको “अनुचित र निरन्तर आक्रामक गतिविधि” को जवाफ भएको बताएको छ। साथै अमेरिकी सेना सतर्क, शक्तिशाली र कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको पनि जनाएको छ।

यसैबीच, इरानले रातभरि क्षेत्रका विभिन्न स्थानतर्फ क्षेप्यास्त्र प्रहार गरेको जानकारी पनि सार्वजनिक भएको छ। अमेरिकी अधिकारीका अनुसार तीमध्ये केही क्षेप्यास्त्रहरूलाई बीचमै रोकिएको थियो। हालसम्म अमेरिकी सैन्य अड्डा वा अन्य अमेरिकी सुविधाहरूमा ठूलो क्षति भएको कुनै सूचना प्राप्त भएको छैन।

खाडी राष्ट्र बहराइनमा भने इरानी आक्रमणको असर देखिएको छ। बहराइनको गृह मन्त्रालयका अनुसार हवाई प्रतिरक्षा प्रणालीले मानव रहित यान (ड्रोन) आक्रमणलाई रोक्दा आकाशबाट खसेका मानव रहित यान (ड्रोन)का टुक्राले एक ११ वर्षीया बालिका सामान्य रूपमा घाइते भएकी छन्।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार मानव रहित यान (ड्रोन) का अवशेषहरू खस्दा हमाद टाउन र राजधानी मनामाका केही घरहरूमा क्षति पुगेको छ। केही सवारीसाधनमा आगलागी समेत भएको बताइएको छ।

अमेरिका र इरानबीच बढ्दो सैन्य गतिविधिले मध्यपूर्व क्षेत्रमा थप तनाव सिर्जना गरेको छ। विश्वका धेरै देशहरूले दुवै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गरिरहेका छन्।

प्रतिक्रिया