
रुस र युक्रेनबीचको युद्ध झन्–झन् चर्किँदै गएको छ। बिहीबार बिहान सबेरै युक्रेनले रुसको राजधानी मस्कोलाई निशाना बनाएर फेरि मानव रहित यान (ड्रोन) आक्रमण गरेको छ। मस्कोका नगर प्रमुख ( मेयर )सर्गेई सोब्यानिनका अनुसार, युक्रेनले मस्कोलाई लक्षित गरी लगातार चौथो दिन यसरी टाढाबाट आक्रमण गरेको हो।
नगर प्रमुख सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममा लेख्दै मस्कोतर्फ आउँदै गरेका कम्तीमा १५ वटा युक्रेनी मानव रहित यानहरूलाई रुसी सेनाले बीचमै रोकेर खसालिदिएको बताएका छन्। यस आक्रमणबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक नोक्सान नभएको र मानव रहित यान(ड्रोन)का टुक्राहरू खसेका ठाउँमा उद्धार टोली पठाइएको उनले जानकारी दिए।
यस मानव रहित यान आक्रमणका कारण सुरक्षालाई ध्यानमा राख्दै मस्कोका दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल (भ्नुकोभो र झुकोभ्स्की) मा केही समयका लागि विमान उडान र अवतरणमा प्रतिबन्ध लगाइएको थियो। रुसको रक्षा मन्त्रालयका अनुसार बुधबार रातिदेखि बिहीबार बिहानसम्ममा मात्रै देशका विभिन्न ठाउँबाट कुल ३३० वटा युक्रेनी मानव रहित यानहरू खसालिएका छन्।
मस्कोबाहेक रुसको दक्षिणमा पर्ने क्रास्नोदार क्षेत्रमा पनि मानव रहित यानहरू पुगेका थिए। त्यहाँ मानव रहित यान को एउटा टुक्रा एउटा अपार्टमेन्ट (आवासगृह भवन) मा खस्दा आगो लागेको र दुई जना घाइते भएका छन्। अर्को एउटा गाउँमा पनि मानव रहित यानखस्दा एक जना घाइते भएका छन्। सुरक्षाको लागि त्यस क्षेत्रका विमानस्थलहरू पनि बन्द गरिएका थिए।
अर्कोतर्फ, युक्रेनका एक अधिकारी एन्ड्री कोभालेन्कोले यस आक्रमणमा रुसको एउटा ठूलो तेल प्रशोधन केन्द्र (ऑयल रिफाइनरी) लाई सफलतापूर्वक निशाना बनाइएको दाबी गरेका छन्। उनका अनुसार, ‘अफिप्सकी’ नाम गरेको उक्त तेल केन्द्रमा आक्रमणपछि ठूलो आगो लागेको छ। यो तेल केन्द्रमा पहिले पनि दुई पटक आक्रमण भइसकेको थियो।
रुसले पनि युक्रेनमाथि आफ्ना आक्रमणहरू रोकेको छैन। युक्रेनी वायुसेनाका अनुसार रुसले २ वटा शक्तिशाली ब्यालिस्टिक मिसाइल (लामो दूरीका क्षेप्यास्त्र) र २२१ वटा मानव रहित यान हरू प्रयोग गरेर युक्रेनमाथि भीषण हमला गरेको थियो। तर, युक्रेनी सेनाले तीमध्ये १९५ वटा रुसी मानव रहित यानहरूलाई आकासमै ध्वस्त पारिदिएको बताएको छ। एबिसीन्यूजले जनाए अनुसार दुवै देशले एकअर्कामाथि आकासबाट लगातार बम र मानव रहित यान बर्साइरहेका छन्।
प्रतिक्रिया