छिमेकीका अगाडि नेपालको स्पष्ट अडान: सम्बन्ध सुधारसँगै सीमा सुरक्षाको वहस: नयाँ दिल्ली पुगेर परराष्ट्रमन्त्री खनालले देखाए कूटनीतिक परिपक्वता

इनेप्लिज २०८३ जेठ २४ गते १०:४४ मा प्रकाशित

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय हीत र सीमा सुरक्षाको संवेदनशीलतालाई भारतको भूमिमा उभिएरै अत्यन्तै गर्व र स्पष्टताका साथ राखेका छन् । वर्तमान सरकार गठन भएपछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा निस्किएका मन्त्री खनालले भारतीय विदेशमन्त्री डा. एस जयशङ्करको निमन्त्रणामा नयाँ दिल्ली पुगी नेपालको आधिकारिक दृष्टिकोण राखेका हुन् ।

संचार माध्यमलाई जानकारी दिदै विशेष गरी प्रसिद्ध कैलाश मानसरोवर यात्राको सन्दर्भ जोड्दै मन्त्री खनालले धेरै विदेशी तथा भारतीय पर्यटकहरू नेपालकै बाटो भएर यात्रा गर्ने गरेको उल्लेख गरे । त्यस क्रममा उहाँले नेपालको भूमिमाथि छिमेकीहरूले गर्ने हस्तक्षेपप्रति नेपालको गम्भीर आपत्ति रहेको स्पष्ट पारे ।

मन्त्री खनालले भने, “कालापानी र लिपुलेक क्षेत्रमा भारत र चीनबिच हुने व्यापारिक वा अन्य सम्झौताहरूमा नेपालको चासो र असहमति छ। त्यो जमिन धेरै लामो समयदेखि नेपालकै हो। त्यसैले नेपालको सहमतिबिना दुई देशले मात्र एकतर्फी रूपमा कुनै पनि सम्झौता गर्न सक्दैनन्।” उनले यस विषयमा नेपालले भारत र चीन दुवै राष्ट्रलाई औपचारिक कूटनीतिक नोट पठाइसकेको र आफ्नो अडान स्पष्ट पारिसकेको जानकारी समेत दिए ।

शनिबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले सन् १८१६ को सुगौली सन्धि अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै अकाट्य भूमि भएको दोहोर्याए । यो समस्यालाई कूटनीतिक माध्यम र आपसी संवादबाटै समाधान गर्न नेपाल सधैँ तयार रहेको उनको भनाइ थियो। यसबाहेक, दुवै देशका विज्ञहरू सम्मिलित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीहरूले बुझ्नुपर्नेमा उनले जोड दिए ।

सीमा विवादको साहसी उठानका साथै यो भ्रमणले नेपाल–भारत बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने थुप्रै सकारात्मक कामहरू पनि गरेको छ। दुई देशका विदेशमन्त्रीबिच भएको उच्चस्तरीय वार्तामा व्यापार, जलविद्युत, भू-उपग्रह (सेटलाइट) प्रविधि र डिजिटल (अङ्किय)क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ। भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत भारतको सहयोगमा सम्पन्न ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा नेपाललाई हस्तान्तरण गरिएको छ। त्यस्तै, दुई देशबिच सहज पैसा पठाउन (रेमिट्यान्स अर्थात् विप्रेषण ) भारतको ‘युपिआई’ र नेपालको ‘एनपिआई’ प्रणालीलाई जोड्ने ऐतिहासिक कार्यको पनि सुरुवात गरिएको छ।

नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका छन् । समग्रमा, यो भ्रमणले केवल दुई देशको सम्बन्धलाई मात्र बलियो बनाएको छैन, बरु नेपालले आफ्ना छिमेकीहरूसँग आफ्नो सार्वभौमिकता र स्वाभिमानका पक्षमा कति दृढतापूर्वक कुरा राख्न सक्छ भन्ने कुरा पनि प्रमाणित गरेको छ।

प्रतिक्रिया