
गत अप्रिल महिनामा भएको युद्धविराम पछि इरानले पहिलो पटक इजरायलमाथि धेरै क्षेप्यास्त्रहरू प्रहार गरेको छ।
इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरायलतर्फ क्षेप्यास्त्र हानेको कुरा स्वीकार गरेको छ। क्षेप्यास्त्र प्रहार भएपछि उत्तरी इजरायलमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् र देशका धेरै ठाउँमा खतराको घन्टी (साइरन )बजाइएको छ।
इजरायली सेनाले ती क्षेप्यास्त्र हरूलाई आकाशमै रोक्ने प्रयास गरिरहेको बताएको छ, तर सबै क्षेप्यास्त्र रोक्न सजिलो नभएको पनि स्वीकार गरेको छ।
यो आक्रमण हुनुभन्दा केही समयअघि इजरायलले लेबनानको राजधानी बेरुतमा अचानक हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणमा दुई जनाको मृत्यु भयो र २० जना घाइते भए।
इजरायलले यसलाई लेबनानको विद्रोही समूह ‘हेजबुल्लाह’ ले गरेको आक्रमणको बदला भनेको छ। तर, इरानले बेरुतमा आक्रमण भएमा कडा जवाफ दिने चेतावनी पहिले नै दिएको थियो। त्यसैले, इजरायलको सोही कदमको बदला लिन इरानले यो क्षेप्यास्त्र प्रहार गरेको हो।
केही दिनअघि मात्र अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनान सरकारबीच युद्ध रोक्ने सहमति भएको थियो। तर, इरानको समर्थन पाएको हेजबुल्लाह समूहले यो सम्झौता मानेको थिएन। इरानले लेबनानमा पूर्ण रूपमा युद्ध रोकिए मात्र अमेरिका र इजरायलसँग ठूलो शान्ति सम्झौता हुने अडान राख्दै आएको छ।
अहिले पाकिस्तान, इजिप्ट र कतार जस्ता देशहरू मिलेर यो युद्ध रोक्न र नयाँ सम्झौता गराउन लगातार प्रयास गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा सिधै केही नभने पनि हेजबुल्लाहमाथि अझ कडा कारबाही हुनुपर्ने धारणा राखेका छन्। अर्कोतर्फ, यो युद्धका कारण समुद्री व्यापारिक मार्गहरू बन्द हुँदा संसारभर तेल, ग्यास र मलको अभाव हुन थालेको छ, जसले विश्वको अर्थतन्त्रलाई नै असर पारिरहेको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भआफ्नो देश सुरक्षित नभएसम्म आक्रमण नरोक्ने अडानमा रहेका छन् ।
प्रतिक्रिया