
युक्रेनले रुसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गलाई निसाना बनाएर शनिबार बिहान अहिलेसम्मकै ठूलो मानव रहित यान (ड्रोन )आक्रमण गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष भेटघाट र वार्ता गर्न अस्वीकार गरेको भोलिपल्टै युक्रेनले यो कडा जवाफ दिएको हो।
यस भीषण आक्रमणपछि सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्ज्याण्डर बेग्लोभले त्यहाँका नागरिकहरूलाई घरबाट बाहिर ननिस्कन कडा चेतावनी दिएका छन् । सुरक्षाका कारण सो क्षेत्रमा घुम्तीयन्त्र अन्तर्जाल (मोबाइल इन्टरनेट )सेवासमेत बन्द गरिएको छ।
रुसी अधिकारीहरूका अनुसार सेन्ट पिटर्सबर्ग वरपरको क्षेत्रमा मात्रै १४१ वटा युक्रेनी मानव रहित यान (ड्रोन)हरू खसालिएको छ भने रुसको रक्षा मन्त्रालयले देशभरि कुल ३७६ वटा युक्रेनी मानव रहित यानहरू नष्ट गरेको दाबी गरेको छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेख्दै आफ्ना मानव रहित यानहरूले करिब १,००० किलोमिटर टाढासम्म उडेर रुसी नौसेनाको हतियार भण्डार र क्रोनस्टाट सैन्य अड्डामा सफल आक्रमण गरेको पुष्टि गरेका छन् ।
यो आक्रमण पुटिनका लागि ठूलो धक्का मानिएको छ, किनकि उनी आफ्नो देशका जनतालाई युद्ध निकै टाढा छ र यसले दैनिक जीवनमा असर गर्दैन भन्ने देखाउन चाहन्थे।
यसअघि शुक्रबार मात्र, राष्ट्रपति पुटिनले जेलेन्स्कीको वार्ताको प्रस्तावलाई “कुनै औचित्य नभएको” भन्दै अस्वीकार गरिदिएका थिए। जेलेन्स्कीले पुटिनलाई सन् २०२२ मा युद्ध सुरु भएयता पहिलोपटक सिधै पत्र लेख्दै पुटिनको २६ वर्षे शासनको कडा आलोचना गरेका थिए।
जवाफमा रुसले पनि युक्रेनमाथि आक्रमण तीव्र पारेको छ। रुसले युक्रेनतर्फ २७२ वटा मानव रहित यान (ड्रोन )प्रहार गरेकोमा युक्रेनी सेनाले २४९ वटा मानव रहित यान (ड्रोन )आकाशमै खसालेको बताएको छ।
तर, रुसी आक्रमणका कारण युक्रेनको डिनिप्रोपेट्रोभस्क र जापोरिजिया क्षेत्रमा धनजनको क्षति भएको छ भने एक जनाको ज्यान गएको र कैयौँ मानिसहरू घाइते भएका छन्। चार वर्षदेखि चलिरहेको यो युद्धमा अहिले दुवै देशले एकअर्कामाथि टाढाबाट मानव रहित यान र क्षेप्यास्त्र प्रहार गर्ने क्रम निकै बढेको छ।
प्रतिक्रिया