शेक्सपियरदेखि कालिदाससम्म: सबैलाई झुक्याएर बोलाइएको सम्मेलन

डिग बहादुर तामाङ २०८३ जेठ १६ गते १:२१ मा प्रकाशित

हास्य ब्यंग्य

कोलोराडो–डेनभर शहरले यस वर्ष Memorial Day Weekend मा यस्तो साहित्य सम्मेलन आयोजना गर्‍यो, जसले साहित्यिक इतिहास मात्र होइन, मानव तर्कशक्ति, आयोजकहरूको धैर्य, र दर्शकहरूको अक्सिजन–स्तर—सबैलाई एकैचोटि ध्वस्त पारिदियो। आयोजकहरूले गर्वका साथ घोषणा गरे—“चार महादेशका साहित्यकारहरू उपस्थित!”—तर सानो समस्या थियो: तीमध्ये केहीले त १६औँ शताब्दीमै आफ्नो अन्तिम सम्मेलनमा भाग लिइसकेका थिए। तर डेनभर, जुन उचाइका कारण आधा समय अचेत–अवचेतको बीचमा बाँचिरहन्छ, यसलाई पनि सामान्य मौसम जस्तै लिएर अघि बढ्यो।

उद्घाटनमा विलियम शेक्सपियर आए—रफ फुलाएर, मानौँ एलिजाबेथन युगबाट टाइम–ट्राभल गरेर सिधै एअरपोर्टको TSA पार गरेर आएका हुन्। TSA ले उनलाई रोकेन, किनकि कसैले पनि १६औँ शताब्दीको पोशाकमा आएको मानिससँग झगडा गर्न चाहेन। मञ्चमा उत्रिएपछि उनले घोषणा गरे—“To breathe or not to breathe”—र त्यसपछि पाँच मिनेटसम्म खोके। दर्शकले ताली बजायो—किनकि उनीहरूले सोचे, “यो पनि नाटककै हिस्सा होला।”

त्यसपछि उनले थपे—“Hamlet त एउटा सानो गाउँ हो, तर मेरो Sonnet 83 को कुरा गरूँ—I never saw that you did painting need।”
दर्शक झनै अलमलमा परे—यो व्याख्यान थियो कि पुरानो नोटबुकबाट भेटिएको ड्राफ्ट?

त्यसपछि विलियम वर्ड्सवर्थ आए—र २५ मिनेटसम्म एउटा प्लास्टिकको डाफोडिलको आध्यात्मिक यात्रा वर्णन गरे। “एसीको हावामा नाचिरहेको थियो,” उनले भने। एसी बन्द भएपछि फूल स्थिर भयो—तर वर्ड्सवर्थ अझै पनि “प्रकृतिको चमत्कार” भन्दै थिए। आयोजकहरूले उनलाई वास्तविक फूल खोजेर दिन खोजे—तर उनले अस्वीकार गरे, “यो प्लास्टिकको फूलमा आधुनिक पीडाको सौन्दर्य छ।”

दर्शकले सोचे—“हामीले पनि एसीको हावामा नाच्नुपर्छ कि?”

एमिली डिकिन्सन भने सनग्लास र हुडीमा, “म यहाँ किन आएको?” भन्ने भाव बोकेर आइन्। उनको मुख्य भाषण आठ शब्दमा सकियो—“म यस्तो भीड मन पराउँदिन।”

दर्शकले यसलाई आधुनिक सभ्यतामाथिको गहिरो प्रहार ठानेर ताली बजाए।

डिकिन्सन भने ताली सकिनुअघि नै हराइसकेकी थिइन्—उनी त यस्तो भीडबाट भाग्न माहिर थिइन्।

आयोजकहरूले उनलाई खोज्न सुरक्षा टोली पठाए—तर उनीहरूलाई पनि भीड मन परेन, त्यसैले उनीहरू पनि हराए।

दक्षिण एसियाली टोली पनि कम थिएन। रवीन्द्रनाथ ठाकुर बादलझैँ बग्दै आए, कविता सुनाए, र आधा श्रोता निदाए—ध्यानमा कि थकानमा, त्यो छुट्याउन गाह्रो थियो।

कालिदास ले भने हिमाली दृश्यको प्रशंसा गर्दै गुनासो गरे—“सुन्दर छ, तर मेघदूत को बिजुली–चमक छैन।”

आयोजकहरूले उनलाई स्टेज लाइट झिम्क्याएर देखाए—तर उनले भने, “यो त डिस्को हो, मेघदूत होइन।”

एकजना दर्शकले त सोधे—“कालिदासजी, तपाईं DJ बन्ने सोचमा हुनुहुन्छ?”

यति भव्य सम्मेलन हुँदा पनि संस्थाका आफ्नै संस्थापक सदस्यहरूलाई भने कार्यक्रमबारे कुनै जानकारी नै दिइएन। उनीहरूको आरोप—निमन्त्रणा सूचीदेखि बजेटसम्म सबै कुरा गोप्य।

“अन्तर्राष्ट्रिय” भन्दा बढी “आन्तरिक पहुँच र चाकडी” आधारित कार्यक्रम भएको उनीहरूको टिप्पणी थियो।

आयोजकहरूले भने—“हामीले सबैलाई बोलायौँ”—तर “सबै” को परिभाषा आर्थिक सहयोगकर्तासम्म सीमित देखियो।

सबैभन्दा रोचक कुरा—कार्यक्रममा न शेक्सपियरका नाटक, न वर्ड्सवर्थका कविता, न कालिदासको मेघदूत, न ठाकुरको गीताञ्जली।
बरु, केही स्थानीय व्यक्तिहरूका आग्रह–अनुरोध मात्र प्रमुख रूपमा सुनियो।

“अन्तर्राष्ट्रिय” सम्मेलनमा विश्व साहित्यको नाम लिनै नपर्ने रहेछ—यो वर्षको नयाँ नियम रहेछ।

अन्त्यमा “हामी यहाँ कसरी आइपुग्यौँ?” शीर्षकको प्यानल भयो—जसको उत्तर कसैसँग थिएन।

शेक्सपियरले जादू दोष दिए, वर्ड्सवर्थले प्रकृति, डिकिन्सनले निमन्त्रणा, ठाकुरले नियति, र कालिदासले—सिधै—खराब व्यवस्थापन।
डेनभर शहरले भने सम्मेलनलाई सफल घोषित गरिदियो।

आखिर, समय, तर्क, र वास्तविकता सबैलाई चुनौती दिने यस्तो साहित्यिक महाभेला हरेक वर्ष कहाँ हुन्छ र।

शेक्सपियरको मात्र एउटा गुनासो बाँकी रह्यो—“अर्को वर्ष समुद्री सतहमा गर, नत्र म फेरि आउँदिन।”

प्रतिक्रिया