ट्रम्प प्रशासनले बदला लिन खोलिएको झूटो मुद्दा अदालतद्वारा बन्द, मेरिल्याण्डका पीडित किलमार गार्सियाले पाए न्याय

इनेप्लिज २०८३ जेठ ९ गते ०:२५ मा प्रकाशित

अमेरिकाको एक अदालतले मेरिल्याण्डमा बसोबास गर्दै आएका किलमार एब्रेगो गार्सिया विरुद्ध सरकारले लगाएको ‘मानिस ओसारपसार’ (ह्युमन स्मग्लिङ) को गम्भीर मुद्दा खारेज गरिदिएको छ। संघीय न्यायाधीश वेभरली क्रेन्सले सरकारले बदला लिने भावनाले यो झूटो मुद्दा चलाएको भन्दै यसलाई पूर्ण रूपमा बदर गरिदिएका हुन्।

किलमार म्यारिल्याण्ड राज्यमा आफ्ना श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए। तर, सन् २०२५ को मार्च महिनामा अघिल्लो ट्रम्प प्रशासनले उनलाई अपराधी समूहको सदस्य भएको आरोप लगाउँदै जबर्जस्ती एल साल्भाडोर देशको एउटा ठूलो कारागारमा देश निकाला (डिपोर्ट ) गरिदिएको थियो। जबकि, अदालतले उनलाई ज्यानको खतरा रहेकाले त्यहाँ नपठाउन पहिले नै आदेश दिएको थियो।

पछि, सरकारले उनलाई फेरि अमेरिका फिर्ता ल्याएर टेनेसी राज्यमा मानिसहरूको अवैध ओसारपसार गरेको नयाँ आरोप लगायो। यो आरोप सन् २०२२ को एउटा सामान्य गाडी जाँच (ट्राफिक चेकिङ)को घटनामा आधारित थियो, त्यति बेला उनलाई कुनै सजाय वा पक्राउ गरिएको थिएन।

न्यायाधीश क्रेन्सले आफ्नो फैसलामा लेखेका छन् , सरकारले किलमारसँग बदला लिन र आफ्नो पुरानो गल्ती लुकाउनका लागि मात्र यो पुरानो घटनाको फाइल फेरि खोलेको हो। न्यायाधीशले थपे, “सरकारी वकिलको सबैभन्दा खतरनाक शक्ति भनेकै कुनै घटनाको अनुसन्धान गर्नुभन्दा पनि आफूलाई मन नपर्ने मान्छेलाई फसाउनु हो।”*

यो फैसलापछि किलमारले खुसी हुँदै न्यायको जित भएको बताएका छन्। आप्रवासीहरूको हकहितमा काम गर्ने संस्था ‘कासा’ र किलमारका वकिलहरूले सरकारले राजनीति गरेर एउटा निर्दोष व्यक्तिलाई फसाउन खोजेको आरोप लगाएका छन्।

यता, सरकारी न्याय बिभागले भने यो फैसलाको विरोध गर्दै न्यायाधीशलाई ‘राजनीति प्रेरित’ भनेको छ । यस फैसलाको विरुद्धमा माथिल्लो अदालत जाने बताएको छ। किलमार अहिले जेलमुक्त छन् तर उनले देश निकाला (डिपोर्ट) विरुद्धको आफ्नो कानुनी लडाइँ अझै लडिरहेका छन्।

प्रतिक्रिया