
अमेरिकी राष्ट्रिय गुप्तचर निकाय (डिरेक्टर अफ नेसनल इन्टेलिजेन्स) की प्रमुख तुल्सी ग्याबार्डले आफ्नो पदबाट राजीनामा दिएकी छिन्।
उनले आफ्ना श्रीमान्को स्वास्थ्य अवस्था खराब भएका कारण यो निर्णय लिनुपरेको बताएकी छिन्।
तुल्सीका श्रीमान् अब्राहमलाई भर्खरै एक निकै दुर्लभ प्रकारको हाडको क्यान्सर (बोन क्यान्सर) लागेको पत्ता लागेको छ।
सामाजिक सञ्जाल ‘एक्स’ मा आफ्नो राजीनामा पत्र प्रकाशन गर्दै तुल्सीले लेखेकी छिन्, “दुर्भाग्यवश, मैले आगामी जुन ३०, २०२६ देखि लागू हुने गरी राजीनामा दिनुपरेको छ। यो कठिन समयमा म मेरो श्रीमान्को साथमा रहन चाहन्छु।”
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता पद छोड्ने तुल्सी चौथो ठूलो मन्त्री (क्याबिनेट अधिकारी) हुन्। राष्ट्रपति ट्रम्पले पनि तुल्सीको निर्णयको सम्मान गर्दै उनले आफ्नो कार्यकालमा उत्कृष्ट काम गरेको तारिफ गरेका छन्।
तुल्सीले पद छोडेपछि आरेन लुकासले कार्यवाहक निर्देशकको रूपमा काम सम्हाल्ने ट्रम्पले जानकारी दिएका छन्।
एपिका अनुसार पारिवारिक कारणबाहेक, ट्रम्प सरकारले इरानमाथि गरेको सैन्य आक्रमणका कारण पनि तुल्सी असन्तुष्ट रहेको चर्चा चलिरहेको थियो।
भूतपूर्व सैनिक र युद्ध विरोधी छविकी नेता भएकाले गत फेब्रुअरीमा अमेरिकाले इरानमाथि गरेको आक्रमण तुल्सीका लागि असजिलो परिस्थिति बनेको थियो।
यसअघि मार्च महिनामा पनि यही युद्धको विरोध गर्दै आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले राजीनामा दिइसकेका छन्।
प्रतिक्रिया