अमेरिकी विदेशसचिवको कडा चेतावनी: समुद्रमा पैसा उठाउने इरानको प्रयास कुनै हालतमा स्वीकार्य छैन

इनेप्लिज २०८३ जेठ ८ गते ११:१३ मा प्रकाशित

वासिङ्टन डिसी — अमेरिकी विदेशसचिव मार्को रुबियोले हर्मुज जलडमरूभएर आवतजावत गर्ने व्यापारिक जहाजहरूसँग पैसा (टोल ट्याक्स) उठाउने इरानको प्रयास पूर्ण रूपमा “अस्वीकार्य” भएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय समुद्री मार्गमा पैसा असुल्ने इरानको यो कदमलाई संसारको कुनै पनि देशले स्वीकार गर्न नहुने कुरामा जोड दिएका छन् ।

हर्मुज जलडमरू संसारकै यस्तो महत्त्वपूर्ण साँघुरो समुद्री बाटो हो, जहाँबाट विश्वको कुल तेल आपूर्तिको झन्डै पाँचौँ भाग (२० प्रतिशत) ओसारपसार हुने गर्छ । अमेरिका र इजरायलले इरान विरुद्ध संयुक्त युद्ध सुरु गर्नुअघिसम्म यो मार्ग सबै देशका जहाजका लागि खुला थियो।

इरानले यस समुद्री मार्गको अर्को किनारमा रहेको देश ओमानसँग मिलेर जहाजहरूको सुरक्षा सुनिश्चित गर्न एउटा “नयाँ प्रणाली” बनाउन लागेको दाबी गरेको छ। तर, ओमानले इरानसँग यस्तो कुनै नयाँ नियम वा सहकार्यबारे अहिलेसम्म औपचारिक पुष्टि गरेको छैन। विदेशसचिव रुबियोका अनुसार इरानले ओमानलाई पनि यो ‘पैसा उठाउने प्रणाली’ मा सामेल गराउन फकाउने प्रयास गरिरहेको छ।

रुबियोले चेतावनी दिँदै भने , “यदि इरानलाई हर्मुज जलडमरूमा पैसा उठाउन दिइयो भने, भोलि संसारका अन्य पाँचवटा महत्त्वपूर्ण समुद्री मार्गहरूमा पनि यसरी नै पैसा उठाउने खेल सुरु हुनेछ। त्यसैले यो कुनै हालतमा हुनु हुँदैन।”

अर्कोतर्फ, इरानी अधिकारीहरूका अनुसार अमेरिका र इजरायलले झन्डै तीन महिनाअघि सुरु गरेको युद्धका कारण परिस्थिति पूर्ण रूपमा बदलिएको तर्क गरेका छन्। समुद्री किनारको देश भएकाले आफ्नो सुरक्षाका लागि जहाजहरूमाथि नयाँ नियम र प्रतिबन्ध लगाउने अधिकार आफूसँग सुरक्षित रहेको इरानको दाबी छ।

प्रतिक्रिया