संसारकै महत्त्वपूर्ण तेल मार्ग इरानको नियन्त्रणमा; अमेरिकी संसदमा चर्काचर्की, युद्ध सम्बन्धी मतदान रोकियो

इनेप्लिज २०८३ जेठ ८ गते १०:२५ मा प्रकाशित

इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक, ‘हर्मुज जलडमरू’मा आफ्नो नयाँ नियम लागू गरेको छ। इरान सरकारले गठन गरेको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ (पिजीएसए) ले यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको घोषणा गर्दै नयाँ सीमाना तोकेको छ।

इरानका अनुसार अब यस नियन्त्रित क्षेत्र भएर यात्रा गर्ने जुनसुकै जहाजले पनि अनिवार्य रूपमा पीजीएसए बाट अनुमति लिनुपर्नेछ। यो मार्ग तेल ओसारपसारका लागि विश्वभर निकै महत्त्वपूर्ण मानिन्छ।

इरानको यो कदमसँगै अमेरिकामा राजनीतिक तनाब बढेको छ। अमेरिकी संसद (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा बिहीबार साँझ इरान विरुद्धको ‘युद्ध अधिकार प्रस्ताव’ मा मतदान हुने तय भएको थियो। तर, रिपब्लिकन दलका सांसदहरूको कम उपस्थितिका कारण अन्तिम समयमा यो मतदान स्थगित गरियो।

मतदान रद्ध भएपछि विपक्षी डेमोक्र्याट दलका नेताहरूले कडा आक्रोश पोखेका छन्। तीमध्येका एक नेता जिम म्याकगभर्नले संसद बैठकमै जोडले कराउँदै भने, “यो बेकारको युद्धले गर्दा अर्बौँ रूपैयाँ बालुवामा पानी हालेसरह भएको छ। जनता महँगीले मर्ने बेला भइसक्यो। पेट्रोलको भाउ आकासिएको छ, भान्छाको सामान किन्नै नसक्ने अवस्था छ। के अमेरिकी जनता यो लडाइँबाट दिक्क भइसकेका छैनन् र?”

संसदमा यसअघि भएका यस्ता धेरै प्रयासहरू असफल भएका छन्, यद्यपि गत हप्ता भएको एउटा मतदानमा बराबरी मत आएर प्रस्ताव रोकिएको थियो। इरानको नयाँ समुद्री नियम र अमेरिकाको आन्तरिक विवादले गर्दा आगामी दिनमा विश्व बजार र इन्धनको मूल्यमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया