बालबालिकाको खानाको पैसामा ब्रह्मलुट: अमेरिकाको मिनेसोटामा बाल हेरचाह गृहकी सञ्चालिका देश छोडी भाग्न खोज्दा पक्राउ

इनेप्लिज २०८३ जेठ ७ गते ११:१४ मा प्रकाशित

अमेरिकाको मिनेसोटा राज्यमा संचालित बालबालिका हेरचाह केन्द्र (डेकेयर सेन्टर) चलाउने एक महिलामाथि करोडौँ डलर ठगी गरेको गम्भीर आरोप लागेको छ।

‘फ्युचर लीडर्स अर्ली लर्निंग’ नामको डेकेयर सेन्टर अर्थात् बालबालिका हेरचाह गर्ने केन्द्रकी सञ्चालिका फाहिमा महमुदले आफ्नो केन्द्र बन्द गरेको दुई दिनमै देश छोडेर भाग्ने प्रयास गर्दा उनी विरुद्धको ठगी मुद्दा सार्वजनिक भएको हो। हाल उनलाई प्रहरीले घरमै नजरबन्द (हाउस एरेस्ट) मा राखेर अनुसन्धान गरिरहेको छ।

सरकारी वकिलहरूका अनुसार फाहिमाले कोरोना महामारीको समयमा गरिब बालबालिकाहरूलाई खाना खुवाउने बहानामा सरकारबाट आउने अनुदानको ठूलो हिस्सा आफैँले राखेकी थिइन्। उनको केन्द्रले महिनामा ६०,००० जनासम्म बालबालिकालाई खाना खुवाएको झुटो दाबी गर्दै नक्कली बिलहरू बनाएर सरकारसँग पैसा मागेको पाइएको छ।

सिबिएसन्यूजका अनुसार सन् २०२१ को ६ महिनाभित्र मात्रै उनले बालबालिकाको पोषण कार्यक्रमबाट ८ लाख ५० हजार डलरभन्दा बढी रकम बुझेकी थिइन्, तर त्यसको सानो हिस्सा मात्र खाना किन्नमा खर्च गरिएको थियो।

यति मात्र होइन, सन् २०२० र २०२१ मा उनले दैनिक १,००० जना बालबालिकालाई हप्ताको सातै दिन, दिनको दुई पटक खाना खुवाएको नक्कली विवरण पेश गरेकी थिइन्। त्यसपछि सन् २०२२ देखि २०२५ सम्म उनले बाल हेरचाह सहायता कार्यक्रम मार्फत नियम विपरीत ४६ लाख डलर (४.६ मिलियन) भुक्तानी लिएको आरोप छ।

यो ठगी धेरै ठुलो सञ्जालसँग जोडिएको छ। ‘फिडिङ आवर फ्युचर’ नामक एक गैरनाफामूलक संस्था मार्फत करिब २५ करोड डलरको ठुलो घोटाला भएको छ, जसमा अहिलेसम्म झण्डै १०० जनालाई कारबाही भइसकेको छ।

गएको फेब्रुअरीमा फाहिमाले आफ्नो हेरचाह गृह अर्थात् डेकेयर बन्द गर्ने जानकारी राज्य सरकारलाई दिएकी थिइन् र सोही दिन लण्डन जाने हवाई टिकट बुक गरेकी थिइन्।

तर, सरकारी निकायहरूले उनको यो कदमलाई असफल पारिदिए। यसै ठगी प्रकरणलाई लिएर अमेरिकी न्याय विभागले बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै थप कानुनी कारबाहीको घोषणा गर्ने तयारी गरेको छ।

प्रतिक्रिया