
संसारकै धनी व्यक्ति इलन मस्कको रकेट र भूउपग्रह (स्याटेलाइट) बनाउने प्रतिष्ठान अर्थात् कम्पनी ‘स्पेसएक्स’ ले पहिलो पटक सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रक्रिया सुरु गरेको छ।
बुधबार प्रतिष्ठानले सरकारी निकायमा यसको औपचारिक दर्ता गराएको हो। यो सेयर बिक्रीबाट स्पेसएक्सले बजारबाट ठुलो मात्रामा नयाँ लगानी (पैसा) संकलन गर्नेछ। अहिलेसम्म यो मस्कको निजी प्रतिष्ठान मात्र थियो, तर अब सेयर बजारमा आएपछि यसले आफ्नो आम्दानी र खर्चको हिसाब सर्वसाधारण र सरकारलाई स्पष्ट रूपमा देखाउनुपर्ने हुन्छ।
स्पेसएक्सले आफ्नो कुल मूल्य १.७५ ट्रिलियन डलर दाबी गरेको छ। यदि यो दाबी सफल भएमा स्पेसएक्स संसारकै नवौँ ठूलो प्रतिष्ठान बन्नेछ। एबिसीन्यूजका अनुसार मस्ककै अर्को चर्चित कार कम्पनी ‘टेस्ला’ को मूल्य १४ ट्रिलियन डलर छ, अर्थात् स्पेसएक्स अब टेस्लाभन्दा पनि ठूलो कम्पनी बन्ने बाटोमा छ।
सन् २००२ मा स्थापना भएको स्पेसएक्सले रकेट बनाउनुका साथै ‘स्टारलिङ्क’ मार्फत अन्तरिक्षबाट संसारभरि अन्तर्जाल (इन्टरनेट )सेवा दिँदै आएको छ। तर, अहिले सेयर बेच्नुको मुख्य उद्देश्य कृत्रिम बौद्धिकता अर्थात् ‘एआई’ को विकास गर्नु हो। हालै मात्र स्पेसएक्सले मस्ककै एआई कम्पनी ‘xAI’ अर्थात् एक्सएआइसँग सम्झौता गरेको छ।
यस सम्झौता अनुसार स्पेसएक्सले अन्तरिक्षमा ‘डाटा सेन्टर’ (सुसाङ्ख्य अर्थात् कम्प्युटर प्रणाली) भएका भूउपग्रहहरू पठाउने योजना बनाएको छ। पृथ्वीमा कृतिम बुद्धिमत्ता (एआई )चलाउँदा धेरै बिजुली खपत हुने र वातावरणमा असर पर्ने भएकाले, मस्कले अन्तरिक्षबाटै एआईको शक्ति वितरण गर्ने नयाँ प्रविधि ल्याउन लागेका हुन्। यो योजनाका लागि उनलाई धेरै पैसा चाहिएको छ, जुन सेयर बजारबाट उठाइनेछ।
मस्कका लागि एउटा नराम्रो खबर पनि आएको छ। उनले कृतिम बुद्धिमत्ता अर्थात् एआई बनाउने अर्को चर्चित कम्पनी ‘ओपनएआई’ र त्यसका प्रमुख साम अल्टम्यानविरुद्ध हालेको मुद्दा अदालतले खारेज गरिदिएको छ।
मस्कले उक्त कम्पनीले पैसा कमाउने उद्देश्य मात्र राखेको भन्दै मुद्दा हालेका थिए, तर अदालतले समय ढिलो भइसकेको प्राविधिक कारण देखाउँदै मुद्दा रोकिदियो। मस्कले भने यस फैसला विरुद्ध फेरि माथिल्लो अदालत जाने बताएका छन्।
तस्बिर : कृतिम बुद्धिमता (जेमिनाइ)
प्रतिक्रिया