अमेरिकी राष्ट्रपति ट्रम्पको कडा चेतावनी: “इरानले शान्ति सम्झौता नगरे सेना पठाएर युद्ध टुङ्ग्याउँछौँ”

इनेप्लिज २०८३ जेठ ७ गते १०:०९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै यदि त्यहाँको सरकारले शान्ति सम्झौतामा हस्ताक्षर नगरे अमेरिकी सेनाले सैन्य कारबाही गरेरै यो मामिला टुङ्ग्याउने बताएका छन्। अमेरिकी कोस्ट गार्ड एकेडेमी (समुद्री सेनाको शिक्षालय) का दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता या अमेरिकी सेनाले बाँकी काम पूरा गर्ने स्पष्ट पारे।

ट्रम्पले अहिले संसारभरि अमेरिकाको सम्मान बढेको दाबी गरे। उनले चीन र भेनेजुएलाको उदाहरण दिँदै अहिले इरानको नौसेना र वायुसेना लगभग पूर्ण रूपमा ध्वस्त भइसकेको दाबी समेत गरे। ट्रम्पका अनुसार अब इरानसँग दुईवटा मात्र विकल्प छन्: कि त उसले आत्मसमर्पण गरेर सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्छ, कि त थप अमेरिकी कारबाही भोग्नुपर्छ।

यो तनावको मुख्य कारण समुद्री मार्गको नियन्त्रण र प्रतिबन्धित व्यापार हो। हालै मात्र इरान सरकारले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ नामक नयाँ निकाय गठन गरी ‘स्ट्रेट अफ हर्मुज’ (एक महत्त्वपूर्ण समुद्री मार्ग-जलडमरु ) मा आफ्नो कडा नियम लागू गरेको घोषणा गरेको छ। इरानको भनाइ अनुसार अब त्यस क्षेत्रबाट जहाजहरू आवतजावत गर्न उनको नयाँ निकायबाट अनुमति लिनुपर्नेछ।

तर, अमेरिकाले इरानमाथि कडा आर्थिक र व्यापारिक प्रतिबन्ध लगाएको छ। ट्रम्पले सम्बोधनका क्रममा दुई महिना अघि मलेसियाको समुद्री तट नजिकै अमेरिकी कोस्ट गार्डको टोलीले इरानको एउटा ठुलो तेल ट्याङ्कर जहाज कब्जा गरेको जानकारी दिए। उक्त जहाजले प्रतिबन्धको उल्लंघन गर्दै १० लाख ब्यारेल भन्दा बढी तेल ओसारपसार गरिरहेको थियो। ट्रम्पका अनुसार अमेरिकाले इरानसँग वास्तविक लडाइँ सुरु गरेयता तटरक्षकले कब्जा गरेको यो तेस्रो इरानी जहाज हो।

एबिसीन्यूजले जनाए अनुसार ट्रम्पले इरानका नेताहरूले बुद्धिमानीपूर्वक वार्ता नगरे अझै ठुलो युद्ध हुन सक्ने र अमेरिकी सेना तयारी अवस्थामा रहेको चेतावनी दिएका छन्।

प्रतिक्रिया