
अमेरिकाको भर्जिनिया राज्यको भर्जिनिया बीच शहरमा आजभन्दा ४० वर्षअघि भएको एउटा भयानक अपराधको रहस्य आधुनिक विज्ञानको सहयोगमा सुल्झिएको छ। एबिसीन्यूजका अनुसार सन् १९८६ मा २२ वर्षकी युवती रोबर्टा वाल्सको बलात्कार गरी क्रूरतापूर्वक हत्या गरिएको थियो।
उनको शव एउटा प्राथमिक विद्यालय पछाडिको चौरमा भेटिएको थियो। लामो समयसम्म अपराधी को हो भन्ने पत्ता लाग्न सकेको थिएन। तर, अहिले आएर ६६ वर्षका चार्ल्स बेरी नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
यो घटनाको अनुसन्धान प्रहरीले चार दशकदेखि गरिरहेको थियो। सन् २००१ मा अपराधीको डीएनएको रूपरेखा तयार पारी राष्ट्रिय तथ्याँक बैंकमा राखिएको थियो। त्यसबेला शङ्का लागेका ३० जनाभन्दा बढी पुरुषहरूको डीएनएसँग भिडाइयो, तर कसैको पनि मेल खाएको थिएन।
समय बित्दै गयो र सन् २०२३ मा भर्जिनिया बीच प्रहरी विभागले नयाँ वैज्ञानिक प्रविधि प्रयोग गर्न थप बजेट पायो। यो प्रविधिको मद्दतले वंशानुगत सम्बन्धहरू खोज्दै जाँदा प्रहरी चार्ल्स बेरीसम्म पुग्न सफल भयो।
अनुसन्धानबाट के खुल्यो भने, हत्या भएको समयमा बेरी अमेरिकी जलसेनामा कार्यरत थिए र त्यही क्षेत्रमा खटिएका थिए। अपराधी र पीडित युवतीबीच पहिले कुनै चिनजान थिएन, र बेरी कहिल्यै पनि प्रहरीको शङ्काको घेरामा परेका थिएनन्।
हालै कनेक्टिकट राज्यबाट बेरीलाई पक्राउ गरिएको छ र उनीमाथि बलात्कार र हत्याको गम्भीर मुद्दा चलाइएको छ। भर्जिनिया बीचका प्रहरी प्रमुख पल न्युडिगेटले भने, “४० वर्षअघि त्यस्तो भयानक अपराध गर्ने मान्छे यतिका समयसम्म हाम्रै समाजमा खुल्ला घुमिरहेको थियो भन्ने सोच्दा पनि डर लाग्छ।”
प्रहरीले जति नै समय बिते पनि सत्य पत्ता लगाएरै छाड्ने र अपराधीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै यो सफलताले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया