
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोमा रहेको एउटा मस्जिद (इस्लामिक सेन्टर) मा गत सोमबार दिउँसो भयानक गोलीकाण्डले बिश्वलाई चकित पारेको छ । यस घटनामा एक सुरक्षाकर्मीसहित तीन जना निर्दोष मानिसको ज्यान गएको छ। प्रहरीका अनुसार आक्रमण गर्नेहरू १७ र १८ वर्षका दुई जना किशोरहरू थिए, जो पछि घटनास्थल नजिकै एउटा गाडीभित्र मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार यी दुई किशोरहरू इन्टरनेट(सामाजिक संजाल अन्तर्जाल )को माध्यमबाट गलत र उग्र विचारधारा (नियो-नाजी र स्वेत राष्ट्रियता ) को जालमा फसेका थिए। उनीहरूले विदेशी नागरिक, अल्पसङ्ख्यक र अन्य जातिका मानिसहरूलाई अत्यधिक घृणा गर्थे। उनीहरूले बिधुतिय माध्यम (अनलाइन)मा ७५ पाना लामो एउटा प्रतिवेदन पनि छाडेका छन्, जसमा विभिन्न समुदायप्रति घृणा फैलाउने कुराहरू लेखिएका छन्।

सोमबार उनीहरू बन्दुक र लडाकुले लगाउने विशेष वस्त्र (ज्याकेट )लगाएर मस्जिदमा छिरेका थिए। मस्जिदको ढोकामा बस्ने सुरक्षाकर्मी अमिन अब्दुल्लाहले उनीहरूलाई रोक्ने प्रयास गरे। बन्दुकधारीहरूसँग लड्दै गर्दा सुरक्षाकर्मी अमिनले मस्जिद भित्र ‘लकडाउन’ बन्द गर्ने चेतावनी पठाउन सफल भए। उनको यो बहादुरीले गर्दा मस्जिद भित्र रहेका करिब १४० जना बालबालिकाहरू लुक्न पाए र उनीहरूको ज्यान जोगियो। सुरक्षाकर्मी अमिनको भने सोही क्रममा मृत्यु भयो। उनी अहिले त्यस क्षेत्रमा ‘हिरो’ अर्थात् नायक मानिएका छन्।
मस्जिद भित्र कोही नभेटेपछि ती आक्रमणकारीहरू बाहिर निस्किए र पार्किङ क्षेत्रमा रहेका अन्य दुई जनालाई गोली हानेर हत्या गरे। त्यसपछि उनीहरू गाडीमा भागेका थिए। अनुसन्धानका अनुसार, गाडीभित्र पुगेपछि १७ वर्षीय किशोरले आफ्नो साथीलाई गोली हाने र त्यसपछि आफैँलाई पनि गोली हानेर आत्महत्या गरे। उनीहरूले यो सबै घटनाको भिडियो इन्टरनेटमा लाइभ (प्रत्यक्ष प्रसारण) समेत गरेका थिए।
प्रहरीले ती किशोरहरूका घरबाट ३० वटा भन्दा बढी बन्दुक, गोलीगठ्ठा र हतियारहरू बरामद गरेको छ। ती बन्दुकहरू उनीहरूका आमाबुबाका थिए। अमेरिकी गुप्तचर निकाय एफबीआले यस घटनालाई ‘घृणाले अभिप्रेरित अपराध’ को रूपमा गम्भीर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया