ट्रम्प फर्किए लगत्तै पुटिन चीनमा: दुई शक्तिशाली देशबीच दोस्ती अझ बलियो बन्दै

इनेप्लिज २०८३ जेठ ६ गते १०:३४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गरेर फर्किएको केही दिनमै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन पुगेका छन्। बुधबार चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जीनफिङ र रूसी राष्ट्रपति पुटिनबीच महत्त्वपूर्ण बैठक भएको छ।

बैठकको सुरुमै पुटिनले सी जिनफिङलाई “मेरो प्रिय मित्र” भन्दै निकै आदरपूर्वक सम्बोधन गरे। उता चिनियाँ राष्ट्रपति सीले पनि दुई देशबीचको आपसी विश्वास र मित्रता निकै बलियो रहेको बताए। यी दुई नेताहरूले सन् २००१ मा भएको आफ्नो देशको पुरानो मित्रताको सम्झौतालाई अझ अगाडि बढाउने निर्णय पनि गरेका छन्।

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र युरोपियन देशहरूले रूससँगको व्यापार बन्द गरिदिएका थिए। त्यसपछि चीन रूसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। चीनले आफू युक्रेन युद्धमा तटस्थ (कसैको पक्षमा नलाग्ने) रहेको बताउँछ, तर उसले रूससँगको व्यापार भने निरन्तर बढाइरहेको छ।

एबिसीन्यूजका अनुसार अहिले रूसले चीनलाई सबैभन्दा धेरै तेल र ग्यास बेचिरहेको छ। सन् २०२६ को पहिलो तीन महिनामा मात्रै रूसबाट चीनतर्फ हुने तेलको निर्यात ३५ प्रतिशतले बढेको छ। बैठकमा पुटिनले मिडल इस्ट (मध्य पूर्व) मा चलिरहेको युद्धका कारण संसारभरि तेलको समस्या हुन सक्ने भए पनि रूसले चीनलाई सधैँ सामान उपलब्ध गराइरहने भरोसा दिए।

यसैबीच, चिनियाँ राष्ट्रपति सीले मध्य पूर्वमा चलिरहेको युद्ध तुरुन्तै रोकिनुपर्ने कुरामा जोड दिए। युद्ध छिट्टै रोकियो भने संसारभरिको व्यापार, उद्योग र तेलको आपूर्तिमा बाधा पुग्दैन र स्थिति सहज हुन्छ भन्ने चीनको भनाइ छ।

प्रतिक्रिया