
उत्तर अमेरिकामा स्थापित नेपालीहरूको प्रमुख सामाजिक संस्था ‘एसोसिएशन अफ नेपालीज इन द अमेरिकाज’ (एएनए) का निर्वाचित अध्यक्ष तथा स्थापित सामाजिक अभियन्ता खगेन्द्र अधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत नेपालको वर्तमान राजनीतिक अवस्था र सुशासनको पक्षमा आफ्नो स्पष्ट र कडा धारणा सार्वजनिक गर्नुभएको छ। अधिकारी आफ्नो सामाजिक सञ्जालमा लेख्नुहुन्छ:
“परिणाममुखी मेहनतको लगानी सहित बहुआयामीक उद्देश्य लिएर नेपाल अव नयाँ युगको सुरुवातीमा परिवर्तनशील भएको महसूस भएको छ। नेपालको स्रोत र साधन अनि प्रवासी नेपालीहरुको सम्मानजनक र सहभागितापूर्ण योगदानलाई सहि तरिकाले परिचालन गरेर विकासको अवसरमा सन्तुलन ल्याई देशव्यापी संगमको अभियान बाट समृद्धिशाली नेपाल निर्माण गर्ने हाम्रो सपनामा व्यावहारिकताको र मानवीयता प्रतिको प्रतिष्ठित एवं मौलिक हक अधिकार प्रदान गर्ने सिद्धांत माथि समेत कायापलट गर्न जरुरी भएको छ भनेर महसूस गर्ने गरी लामो यात्राको, दर्विलो, दूरगामी, दूरदर्शी, साझा र फराकिलो सोच राखौं। स्वदेशी एवं प्रवासी नेपालीहरुको आपसी र वलियो एकता बाट मातृभूमि नेपाललाई समृद्धिशाली बनाऔं।”
प्रवासी नेपालीहरूको नागरिकता र अधिकारको सवालमा जोड दिँदै अधिकारी अगाडि लेख्नुहुन्छ, “वंशज, जन्मसिद्ध अर्थात् एकपटकको नेपालीलाई पूर्व नेपाली नबनाई ‘एक पटकको नेपाली स्वत: नै सधैंको नेपाली’ हो भनेर संवैधानिक वैधता र कानूनी कार्यवाही बाट पुनः प्रतिस्थापित गरौं भनेर माननीय संघिय प्रतिनिधि सभा सदस्य रबि लामिछनेले नेतृत्व गर्नु भएको नेपालको प्रमुख राजनैतिक दल राष्ट्रिय स्वतंत्र पार्टी ( रास्वपा) को वर्तमान एकल सरकार अर्थात् नेपाल सरकारलाई विनम्रतापूर्वक अनुरोध गरिन्छ।”
यो अभियानमा सबैको ऐक्यबद्धता खोज्दै अधिकारी भन्नुहुन्छ, “यस विशाल र महान अभियानमा सबै जुटौं कोहि पनि नछुटौं। बहुआयामीक कार्यप्रणालीमा सरकारी, अर्धसरकारी, कुटनीतिक कर्मचारीहरु र अन्य जिम्मेदारीपूर्ण पदहरुमा पदस्थापन साथै नियुक्तिहरु गर्दा पनि हिजोको भन्दा झन बढी चाकडी, चाप्लुसी र रिश्वत बुझाउन पर्ने परिस्थिति सृजना भयो भने पक्का पक्की सुशासन युक्त बिधिको शासनमा कुठाराघात हुनेछ।”
नेपालको शासकीय पद्धति विधिको बाटोमा हिँड्नुपर्ने कुरामा जोड दिँदै अधिकारी लेख्नुहुन्छ, “उपरोक्त यथार्थलाई मध्यनजर गरेर मुलुकको साशन व्यवस्थालाई व्यवस्थापकीय ढंगबाट शुसंचालन गर्न जेन-जी विद्रोह पश्चात रगतको जग बाट स्थापित अर्थात् आम निर्वाचन मार्फत प्राप्त ताजा र प्रचंड झण्डै दुई तिहाइको जनादेश बाट सुनिश्चित गरिए बमोजिम सरकारी अर्थात् मुलुकको शासकीय पद्धति अव विधि र थिति अवलम्बन गर्ने महाविद्यालयको दूरदर्शी सोचबाट देशमा शिष्टता पूर्वक नै राजकाज सन्चालन गर्नु चैं नितान्त रुपमा जनप्रिय र सर्वत्र रुपमा शोभनीय हुनेछ भन्ने लागेको छ।”
नेता र शासकहरू बाट आफ्ना भजन मण्डली सुधार्न लाग्नुपर्ने बारेमा चेतावनी दिँदै अधिकारी भन्नुहुन्छ, “यदि उपरोक्त अनुसारको सर्वश्रेष्ठ र उपयुक्त सिद्धांतको मूलभूत प्रक्रियालाई नै तोडमोड गरेर देशको उच्च शासक एवं सम्बद्ध संयन्त्रले केवल आफ्नाहरुलाई मात्र खुसी र सुखी बनाउँन साथै उसकै भजन मण्डलीलाई वलियो बनाउँन र षड्यंत्रकारी खेल खेलेर अपराधिक गतिविधि बाट बचाउँन लाग्छ भने, त्यो मुलुक र सार्वभौम नागरिक यानेकी देश र जनताका लागि नै असहनीय र अधोगति पनि हुनेछ भनेर स्पष्ट रुपमा बुझ्न जरुरी हुनेछ भन्ने हाम्रो सर्वसम्मत ठहर रहेको छ।”
चाकडी प्रथाको अन्त्य हुनुपर्ने जिकिर गर्दै अधिकारी थप लेख्नुहुन्छ, “अबका दिनमा नेपालमा हरेक क्षेत्रमा चाकडी, चाप्लुसी र भजन मण्डलीहरुको भरिभराउलाई सदाका लागि उन्मूलन गर्न जरुरी छ। हामीले कमसेकम अव चैं सार्वभौम नागरिकको सार्वभौम सर्वोच्चतालाई निष्पक्ष, प्रजातांत्रिक र लोकतांत्रिक भएर सम्मान गर्नु सर्वोत्तम र बुद्धिमानी पनि हुनेछ भन्ने हाम्रो निस्वार्थता पूर्वकको मान्यता र साझा धारणा पनि हो भन्दा अत्युक्ति समेत नहोला भन्ने हाम्रो दर्विलो बुझाई र जिकिर समेत हो। यस मानेमा स्वदेशी एवं प्रवासी नेपालीहरु नितान्त रुपमा सक्षम र सक्रिय भएर सचेत हुन जरुरी छ।”
वर्तमान प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको प्रशंसा गर्दै अधिकारी लेख्नुहुन्छ, “वर्तमान सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह देशमा सुशासन र जनताहरुलाई हाल सुशासन र सेवा प्रवाह गर्नमा नै केन्द्रित हुनु भएको देखिन्छ। उहाँले काठमांडौं महानगर पालिकाको मेयर पदमा निर्वाचित हुँदाका बखतमा पनि आफ्ना शुभेच्छुकहरु र समर्थकहरु बाट कदाचित पनि तड़क भड़क, खादा-माला ग्रहण गर्नुभएको देखिएको थिएन। किनकी उहाँको पहिलो प्राथमिकता जनताहरुलाई सेवा प्रवाह गर्नु र भताभुंग भएको देशलाई सही दिशामा ल्याउनु थियो। उहाँको अहिलेको कामको गति र परिणामहरूले पनि धैरे प्रश्नहरूको जवाफ दिदै आएको महसूस गरिन्छ। देश प्रतिको समर्पण, ईमानदारीता र कर्म प्रतिको अटल प्रतिबद्धता नै उहाँको लागि वास्तविक पहिचान बनेको छ भन्ने विस्वास लागेको छ। यसर्थ अहिले सम्माननीय प्रधानमंत्री र उहाँको सरकारका माननीय मन्त्रीहरु सबैलाई सेवा प्रवाहमा नै सक्रिय हुँन हामीले सहयोग गरौं भनेर आग्रह गरिन्छ। यो नै देश र जनताको लागि गरिएको वास्तविक र ख़ास योगदान पनि मानिने हुन्छ।”
भ्रष्ट र बिचौलियाहरूको सातो गएको टिप्पणी गर्दै अधिकारी भन्नुहुन्छ, “आज नेपाल र प्रवासमा समेत प्रायः सबै सार्वभौम जनताहरु खुसी नै छन् भन्ने प्रष्ट छ, सम्माननीय प्रधानमंत्री बालेन्द्र शाह र मन्त्री परिषदका माननीय मंत्रीहरुको काम गर्ने शैली देखेर। सबै भ्रष्ट, दलाल र बिचौलिया राजनीतिक पार्टीहरु र झोलाछापहरु मात्र विरोधी भएका छन्। यिनिहरुले देश र जनताको हितमा अव पनि अति नै बैमानी गरेमा अली-अली बचे खुचेको ईज्जत र राजनीतिक रूप पनि अव भविष्यमा सम्पन्न हुँने स्थानीय निर्वाचनमा सखाप हुने छाँट देखिन्छ। सबै जनता पनि अव प्रधानमंत्री बालेन्द्र शाह जस्तै नै भैसकेका छन् भन्दा अत्युक्ति नहोला।”
गफ दिने पुरानो परम्पराको अन्त्य हुनुपर्ने माग राख्दै अधिकारी थप्नुहुन्छ, “नबोलेर पनि केवल काममा मात्र विश्वास गर्ने आदत हामी सबैको लागि नितान्त स्वागत योग्य हुनेछ। सरकारका विभिन्न अंगहरुमा रहेकाहरु बाट, संसदमा रहेकाहरु बाट, न्यायालयमा रहेकाहरु बाट, सुरक्षा निकायमा रहेकाहरु बाट, र सरकारी र अर्धसरकारी निकायहरुमा पदासीनहरु लगायत समस्त कुटनीतिक निकायहरुमा रहेकाहरु समेत यानेकी समग्र सेवाग्राही निकायहरुबाट अव केवल कुरा मात्र गर्ने परंपरालाई अन्ततः समाप्त अर्थात् खारेजी गर्दै मात्र सेवा प्रवाहमा नै ध्यान जान जरुरी हुनेछ भन्ने हामी सबैको साझा चाहाँना हो।”
आफ्नो स्टाटसको अन्त्यतिर सकारात्मक सहयोगको अपेक्षा गर्दै अधिकारी भन्नुहुन्छ, “धैर्यता र सहनशीलता सहित केवल निस्वार्थताको सहकार्यका सिद्धान्त अनुरूप वर्तमान सरकारलाई केवल सानो भए पनि योगदान दिएर, सकारात्मक मन र स्वच्छ भावनाले भए पनि सहयोग मात्र गर्ने आदत हामी सबैलाई जागोस् र यो सोच सबैका लागि मनन् योग्य र स्वीकार्य हुनेछ भन्ने हाम्रो अटल बिस्वास छ। विश्व मै हाम्रो सुन्दर शान्त देश नेपाल सबैका लागि विधिवत रुपमा र शानदार रुपमा बस्न, भ्रमण गर्न, उद्यम गर्न र उन्नति गर्न लायक़ बनोस्। हाम्रो ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ को उद्घोष सफलता पूर्वक फलदायक होस् हार्दिक शुभकामना। जय नेपाल र जय नेपालीको गौरवशाली गाथा विश्वभर फलोस,फूलोस।”
न्यायालय र वकिलहरूको खराब अवस्था प्रति आक्रोश पोख्दै अधिकारी कडा शब्दमा लेख्नुहुन्छ, “प्रसंगवश, नेपालमा न्यायका लागि कटिबद्ध विद्वान ओकिल साहेबहरुले पनि आफ्नो पवित्र पेशा प्रति ईमानदारीता कायम गर्न जरुरी छ। तर उहाँहरु यस्तो नभएर जनताको कानून व्यवसायि हुन कहिले पनि सक्नु भएन। फोहोरी राजनीतिक पार्टीहरुको झोले भएर ति पार्टीहरुको गिद्धे स्वार्थ अनुसारको निर्देशनमा मात्र चल्नु भयो र आजको दूषित न्यायालयको परिस्थिति ल्याउँनु भएको छ। आज यसै ख़राबीका कारणले गर्दा नै हो देशमा अस्वस्थ कानूनी वातावरण सृजित भएको छ। यस्ता असीमित खराब पात्रहरुले मान्नुहोस या नमान्नुहोस, हामि सार्वभौम जनताले बुझेको मूल मान्यता र तथ्य चैं यहि नै हो। कालो कोटको सम्मान र आदर कमसेकम पनि ओकिल साहेबहरुले राख्नु पर्ने हुन्छ भनेर भन्न चाहाँन्छु। गरीब, ग़रीबी, सर्बहारा, असहाय र सार्वभौम जनताको पक्षमा मात्र विद्यमान कानून अनुसार वकालत गर्नु पर्ने हो। तर केवल आर्थिक लेनदेन, पैसा र स्वार्थको लागि मात्र पछि लागेर मुलुकमा वेतिथि मौलायो। यस प्रकारका अस्वीकार्य पथमा नलाग्न कानून व्यवसायमा आबद्ध विद्वानहरुलाई हार्दिकता पूर्वक सूचित गरिन्छ।”
प्रधानन्यायाधीश नियुक्तिको आँटिलो कदमको स्वागत गर्दै अधिकारी भन्नुहुन्छ, “सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले दूषित न्यायालयलाई दलीय राजनीतिको संक्रामक भागबण्डाबाट मुक्त गर्दै पवित्र न्यायालय स्थापित गर्न मेहनत गरेको तथ्यलाई प्रशंसा गर्न आवस्यक छ। अहिलेसम्म घोर दलीय भागबण्डाका आधारमा हुँदै आएको सर्वोच्च अदालतको सम्माजनक पद ‘सम्माननीय प्रधानन्यायाधीश’ सिफारिसमा प्रधानमन्त्री बालेन्द्र ( बालेन) शाहले हिम्मत जुटाएर न्यायपालिकामा आमूल परिवर्तन गर्न चालिएको वर्तमान परिवर्तित र प्रारम्भिक थालनी प्रति खुलेर प्रसन्नता व्यक्त गर्दछु।”
आफ्नो फेसबुक स्टाटसको निष्कर्ष निकाल्दै अधिकारी लेख्नुहुन्छ, “अन्तमा, मुलुकमा बहुआयामीक तवर बाट न्यायिक लगायतका क्षेत्रहरुमा स्थायित्व दिदै दिगो तवर बाट एक स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र देश निर्माणमा जन संरक्षणको हितकारी मूल ध्येय राखेर गरएको नयाँ र कठिन साहस नितान्त दूरदर्शी प्रयास हो र यो अत्यंत सराहनीय कार्य समेत हो भनेर हामी सबैले आत्मसात गर्न उपयुक्त हुनेछ भन्ने आग्रह गर्दै म स्वयं समेत पनि ऐजन मुताबिकको तटस्थ बुझाईलाई आदर गर्दछु भनेर सार्वजनिक गर्दछु।”
लेखक खगेन्द्र अधिकारी उत्तरी अमेरिकामा स्थापित, स्वतन्त्र एवं मर्मस्पर्शी सामाजिक सेवाका विभिन्न क्षेत्रहरूमा आबद्ध एक सक्षम र ईमानदार व्यक्तित्व हुनुहुन्छ। उहाँ उत्तर अमेरिकी नेपालीहरूको प्रमुख सामाजिक छाता संस्था ‘एसोसिएशन अफ नेपालीज इन द अमेरिकाज’ (एएनए) को दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष हुनुहुन्छ।
प्रतिक्रिया