६१ यात्रु बोकेको एयर क्यानडा विमान बोस्टनमा आकस्मिक अवतरण, सहचालकले सुरक्षित अवतरण गराए पछि ठूलो दुर्घटना टर्‍यो

इनेप्लिज २०८३ असार १० गते २२:५३ मा प्रकाशित

अमेरिकाको न्यु जर्सी राज्यस्थित नेवार्कबाट क्यानडाको हेलिफ्याक्सका लागि उडेको एयर क्यानडाको एउटा विमानका कप्तान (क्याप्टेन) उडानकै क्रममा अचानक बिरामी परेपछि विमानलाई बोस्टनको लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रूपमा अवतरण गराइएको छ।

एयर क्यानडाको उडान ७६६४ मा ६१ जना यात्रु सवार थिए। उडानका क्रममा कप्तानलाई स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि सुरक्षा नियमअनुसार उनलाई विमानको नियन्त्रण कक्ष (ककपिट) बाट हटाइएको थियो। 

त्यसपछि सहचालक (फर्स्ट अफिसर) ले विमानको पूर्ण नियन्त्रण आफ्नो हातमा लिएर सुरक्षित रूपमा बोस्टनतर्फ मोडेका थिए।

एयर क्यानडाले जारी गरेको विज्ञप्तिका अनुसार  सहचालकले विमानलाई सुरक्षित रूपमा अवतरण गराए। 

कम्पनीले आफ्ना बिमानचालकहरुलाई यस्ता आकस्मिक परिस्थितिमा पनि विमान सुरक्षित रूपमा सञ्चालन र अवतरण गर्न विशेष तालिम दिइएको जनाएको छ।

जानकारीअनुसार विमान बुधबार दिउँसो नेवार्क विमानस्थलबाट उडेको थियो। उडान सुरु भएको केही समयमै कप्तानको स्वास्थ्य अवस्था बिग्रिएपछि विमान बोस्टनतर्फ मोडिएको थियो। विमान सुरक्षित रूपमा अवतरण गरेलगत्तै रुग्णबाहिनी धावनमार्ग(एम्बुलेन्स रनवे)मा पुगेको थियो। 

चिकित्सकहरूको टोलीले कप्तानलाई अस्पताल पुर्‍याएको थियो।

बोस्टन आपतकालीन स्वास्थ्य सेवाका अनुसार कप्तानलाई म्यासाचुसेट्स जनरल अस्पतालमा भर्ना गरिएको छ। तर उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।

उड्डयन विज्ञ प्याट्रिक स्मिथले यस्तो घटना नै प्रत्येक व्यावसायिक विमानमा दुई जना योग्य बिमानचालक राखिनुको मुख्य कारण भएको बताए। 

उनका अनुसार सहचालक कुनै सहयोगी मात्र नभई पूर्ण रूपमा प्रशिक्षित बिमानचालक(पाइलट )हुन्छन्, जसले आवश्यक परेमा एक्लैले पनि विमान सुरक्षित रूपमा सञ्चालन गर्न सक्छन्।

यस घटनामा सबै यात्रु सुरक्षित रहेका छन्। विमान अवतरणपछि यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। 

एयर क्यानडाले प्रभावित यात्रुहरूको गन्तव्य यात्राका लागि वैकल्पिक व्यवस्था मिलाइरहेको जनाएको छ।

प्रतिक्रिया