
पाकिस्तानको एक अदालतले गत वर्ष एक प्रसिद्ध किशोरी सामाजिक सञ्जाल प्रयोगकर्ता (इन्फ्लुएन्सर) को हत्या गर्ने पुरुषलाई मृत्युदण्ड (फाँसी) को सजाय सुनाएको छ। ती किशोरीले उनको प्रेम प्रस्ताव र विवाहको आग्रहलाई बारम्बार अस्वीकार गरेपछि उनको हत्या गरिएको थियो।
सिबिएसन्यूजका अनुसार राजधानी इस्लामावादको एक अदालतले २२ वर्षीय अभियुक्त उमर हयातलाई मृत्युदण्डसँगै ७ हजार २०० अमेरिकी डलर जरिवाना गर्ने फैसला गरेको हो। प्रहरी र पीडित परिवारका अनुसार हयातले १७ वर्षीया टिकटक प्रयोगकर्ता सना युसुफलाई उनकै घरमा गोली हानेर हत्या गरेका थिए। सनाको टिकटकमा लाखौँ प्रशंसकहरू थिए, जहाँ उनी खाना, भेषभूषा (फेसन) र छालाको हेरचाह (स्किनकेयर) सम्बन्धी श्रब्यदृश्य (भिडियो)हरू राख्ने गर्थिन्। उनले समाजमा कतिपय निषेधित मानिने व्यक्तिगत सम्बन्धका समस्याबारे पनि खुलेर कुरा गर्ने गर्थिन्।
गत जुन महिनामा भएको यो हत्याले पाकिस्तानभरि ठूलो आक्रोश र बहस निम्त्याएको थियो। तर, कतिपय बिधुतिय (अनलाइन) प्रयोगकर्ताहरूले भने उल्टै ती किशोरीलाई नै दोषी देखाउँदै “जस्तो रोपे त्यस्तै फल्छ” भन्दै नराम्रा टिप्पणीहरू पनि गरेका थिए।
पाकिस्तानमा टिकटक निकै लोकप्रिय छ। विशेष गरी महिलाहरूका लागि यो मंच आफ्नो प्रतिभा देखाउने र आम्दानी गर्ने राम्रो माध्यम बनेको छ। तर, सरकारले कतिपय अवस्थामा “अश्लील सामग्री” फैलाएको भन्दै टिकटकमाथि प्रतिबन्ध पनि लगाउने गरेको छ।
पाकिस्तानमा महिलामाथि हुने हिंसा एउटा ठूलो समस्याको रूपमा रहेको छ। गत जुलाईमा मात्रै एक बुबाले आफ्नी छोरीलाई टिकटक खाता नहटाएको भन्दै गोली हानेर हत्या गरेका थिए।
त्यस्तै, प्रेम वा विवाहको प्रस्ताव अस्वीकार गरेकै कारण महिलाहरूमाथि आक्रमण भएका थुप्रै घटनाहरू छन्। यसअघि सन् २०२१ मा नूर मुकादम नामकी युवतीको पनि यस्तै कारणले हत्या भएको थियो, जसमा दोषीलाई मृत्युदण्ड दिइएको थियो। यो नयाँ फैसलाले फेरि एकपटक पाकिस्तानमा महिला सुरक्षाको मुद्दालाई अगाडि ल्याएको छ।
प्रतिक्रिया