‘द न्युयोर्क टाइम्स’ द्वारा रक्षा मन्त्रालय (पेन्टागन) विरुद्ध मुद्दा दर्ता

इनेप्लिज २०८३ जेठ ५ गते ११:२९ मा प्रकाशित

बिश्व प्रसिद्ध अमेरिकाको प्रख्यात पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले अमेरिकी रक्षा बिभाग (पेन्टागन) विरुद्ध पाँच महिनाभित्रै दोस्रो पटक अदालतमा मुद्दा दर्ता गरेको छ। पेन्टागनभित्र समाचार संकलनका लागि जाने पत्रकारहरूका साथमा अनिवार्य रूपमा सरकारी सुरक्षाकर्मी (एस्कर्ट) बस्नुपर्ने नियम बनाएपछि न्युयोर्क टाइम्सले यसको कडा विरोध गर्दै कानुनी बाटो रोजेको हो।

पत्रिकाका अनुसार पत्रकारको पछि-पछि सरकारी मान्छे खटाउने यो नियमले अमेरिकी संविधानको पहिलो संशोधनले दिएको प्रेस स्वतन्त्रताको अधिकारलाई सिधै उल्लंघन गर्छ। न्युयोर्क टाइम्सका प्रवक्ता चार्ली स्टाडल्यान्डरले भनेका छन्, “अमेरिकी जनताले उनीहरूको करबाट चलेको सरकार र सेनाले के काम गरिरहेको छ भन्ने कुरा थाहा पाउनु उनीहरूको अधिकार हो। पेन्टागनले स्वतन्त्र पत्रकारिता रोक्न यस्तो असंवैधानिक नियम ल्याएको हो।”

यो विवाद दोस्रो ट्रम्प प्रशासन र अमेरिकी सञ्चारमाध्यमहरू बीच बढ्दै गएको तनावको अर्को रूप हो। यसअघि गत वर्षको अन्त्यतिर रक्षा सचिव पीट हेगसेथले पत्रकारहरूका लागि कडा प्रतिबन्धहरू लगाएका थिए, जसका कारण सीबीएस, सीएनएन जस्ता ठूला संचारमाध्यम हरू पेन्टागन छोड्न बाध्य भएका थिए। मार्च महिनामा अदालतले ती कडा प्रतिबन्धहरूलाई अवैध ठहर गरिदिएको थियो।

अदालतको उक्त आदेशपछि पेन्टागनले चलाखी गर्दै नयाँ नियम ल्यायो— जसअनुसार पत्रकारहरू भवनभित्र एक्लै हिँडडुल गर्न पाउँदैनन्, उनीहरूको साथमा सरकारी कर्मचारी हुनैपर्छ। न्युयोर्क टाइम्सले यस नियमको मुख्य उद्देश्य पेन्टागनले स्वीकृत गरेका समाचार मात्र बाहिर आओस् र सरकारको आलोचना हुने समाचारहरू लुकाउन सकियोस् भन्ने रहेको दाबी गरेको छ।

अर्कोतर्फ, पेन्टागनका प्रवक्ता सीन पार्नेलले न्युयोर्क टाइम्सको यो कदमको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै पत्रकारहरू पेन्टागनभित्र विना रोकतोक घुम्न पाउनुपर्छ भन्दै अति संवेदनशील र गोप्य सूचनाहरू हात पार्न खोजिरहेको आरोप लगाएका छन्। पेन्टागनका अनुसार यो नियम पत्रकारलाई रोक्न नभई राष्ट्रिय सुरक्षाका गोप्य कुराहरू चोरिएर बाहिर नजाऊन् (चुवाहट नहोऊन्) भन्नका लागि मात्र बनाइएको हो।

तस्बिर : कृतिम बुद्धिमत्ता (जेमानाइ एआइ)

प्रतिक्रिया