शरणार्थी नीतिमा ट्रम्पको नयाँ नीति : दक्षिण अफ्रिकाका हजारौँ ‘श्वेत’ नागरिकलाई शरणार्थीका रूपमा अमेरिका भित्र्याइने

इनेप्लिज २०८३ जेठ ५ गते १०:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दक्षिण अफ्रिकाका स्वेत जातिलाई ठूलो संख्यामा शरणार्थीका रूपमा अमेरिका ल्याउने तयारी गरेको छ।

सिबिएसन्यूजका अनुसार अमेरिकी विदेश बिभागले संसद् (काङ्ग्रेस) मा पठाएको एउटा गोप्य योजना अनुसार, यस वर्ष अमेरिकाले लिने शरणार्थीको संख्या ७ हजार ५ सयबाट बढाएर १७ हजार ५ सय पुर्‍याउन लागिएको हो। थपिने १० हजार कोटा सबै दक्षिण अफ्रिकाका गोरा जाति(स्वेत)का लागि मात्र छुट्याइने प्रस्ताव गरिएको छ।

यसअघि ट्रम्प प्रशासनले विश्वका अन्य देशका नागरिकका लागि अमेरिका आउने शरणार्थी बाटो लगभग बन्द जस्तै गरेको थियो। तर, दक्षिण अफ्रिकाका अफ्रिकानर्सहरू गोरा भएकै कारण त्यहाँ जातीय विभेद र दमनमा परेको ट्रम्पको दाबी छ। यो नयाँ योजना कार्यान्वयन गर्न अमेरिकी सरकारको करिब १० करोड डलर खर्च हुने अनुमान गरिएको छ। गत अक्टोबरदेखि अहिलेसम्म अमेरिकाले भित्र्याएका शरणार्थीमध्ये ९९ प्रतिशत दक्षिण अफ्रिकाकै स्वेत नागरिकहरू छन्।

राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा जातिका मानिसहरूमाथि ‘नरसंहार’ (सामूहिक हत्या) भइरहेको आरोप लगाएका छन्। उनले दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसासँगको भेटमा त्यहाँका गोरा किसानहरूको हत्या भइरहेको एउटा श्रब्यदृश्य (भिडियो )समेत देखाएका थिए।

तर, दक्षिण अफ्रिकाको सरकार र धेरै अन्तर्राष्ट्रिय विज्ञहरूले ट्रम्पको यो दाबीलाई अस्वीकार गरेका छन्। उनीहरूका अनुसार त्यहाँ गोरा जातिलाई मात्र निशाना बनाएर हत्या गरिएको होइन, बल्कि त्यो दक्षिण अफ्रिकामा बढ्दै गएको सामान्य अपराध र सुरक्षाको समस्या मात्र हो, जसको मारमा सबै जातिका मानिसहरू परेका छन्।

यसबाहेक, दक्षिण अफ्रिकामा भूमिसम्बन्धी एउटा नयाँ कानुन ल्याइएको छ, जसअनुसार सरकारले सार्वजनिक हितका लागि जमिन आफ्नो नियन्त्रणमा लिन सक्छ। विगतको रंगभेद नीतिका कारण त्यहाँ धेरैजसो जमिन गोरा जातिको कब्जामा छ। ट्रम्पले यसै कानुनलाई देखाएर गोराहरू संकटमा परेको बताएका छन्, यद्यपि कानुनमा कुनै जातिको नाम उल्लेख छैन।

विदेश बिभागले संसद्मा पठाएको यो प्रस्तावलाई अब राष्ट्रपति ट्रम्पले औपचारिक रूपमा स्वीकृत गरेपछि यो कानुन बन्नेछ।

प्रतिक्रिया