
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारका लागि तय गरिएको इरानमाथिको ठूलो सैन्य आक्रमण तत्कालका लागि रोकेका छन् ।
इरानसँग युद्ध अन्त्य गर्नका लागि अहिले “गम्भीर वार्ता” भइरहेकाले आफूले आक्रमण स्थगित गरेको ट्रम्पले बताएका छन् ।
सोमबार साँझ ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “इरानसँग कुरा मिल्ने राम्रो सम्भावना देखिएको छ । यदि बमबारी नगरीकनै समस्या समाधान हुन्छ भने म धेरै खुसी हुनेछु ।” ट्रम्पका अनुसार मध्यपूर्वका मित्र राष्ट्रहरू (कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स) ले इरानसँग सम्झौताको नजिक पुगेको भन्दै दुई-तीन दिन पर्खिन अनुरोध गरेपछि उनले यो निर्णय लिएका हुन् ।
यसअघि ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ‘समय घडीको सुई जस्तै छिटो बित्दैछ र चाँडो सम्झौता नगरे इरानको अस्तित्व नै मेटिने’ धम्की दिएका थिए । अमेरिकी सेनालाई पनि जुनसुकै बेला इरानमाथि ठूलो आक्रमण गर्न तयार रहन निर्देशन दिइएको छ । तर, खाडी देशहरूको आग्रहमा अहिलेलाई युद्धको निर्णय रोकिएको हो ।
पछिल्लो समय इरान र इराकका केही समूहहरूले खाडी देशहरूमा मानव रहित यान (ड्रोन )आक्रमण गर्दै आएका छन् । भर्खरै मात्र संयुक्त अरब इमिरेट्स को एउटा आणविक ऊर्जा केन्द्र नजिकै मावन रहित यान (ड्रोन )आक्रमण भएको थियो, जसका कारण त्यहाँ तनाव बढेको छ । यही बीचमा ट्रम्पले इजरायल र चीनका राष्ट्रपतिसँग पनि इरान युद्धबारे कुराकानी गरेका छन् ।
ट्रम्पले आक्रमण रोकेर कुराकानी अगाडि बढाउने समाचार सार्वजनिक गरेलगत्तै विश्व बजारमा कच्चा तेल (पेट्रोलियम) को मूल्यमा गिरावट आएको छ । युद्ध हुने डरले बढेको तेलको मूल्य प्रति ब्यारेल २ डलर भन्दा बढीले घटेर १०७.२५ डलरमा पुगेको छ ।
अर्कोतर्फ, इरानको सरकारी दूरदर्शन (टेलिभिजन)ले भने ट्रम्पको यो कदमलाई अमेरिकाको “डर र पछि हटाइ” भनेर टिप्पणी गरेको छ । इरानले आफ्नो समुद्र तट नजिकै पर्ने केसमु टापुमा सुरक्षा प्रणालीहरू पनि सक्रिय बनाएको जनाएको छ ।
प्रतिक्रिया