सान डिएगो मस्जिद आक्रमण : आक्रमणकारी किशोरका आमाले प्रहरीलाई पहिले नै गरेकी थिइन् खबर, तर टर्न सकेन दुःखद घटना

इनेप्लिज २०८३ जेठ ५ गते १:३३ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगोको सबैभन्दा ठूलो मस्जिद ‘इस्लामिक सेन्टर’ मा सोमबार दुई जना किशोर उमेरका बन्दुकधारीहरूले मस्जिदमा अन्धाधुन्ध गोली चलाउँदा तीन जना पुरुषको मृत्यु भएको छ।

आक्रमण गरिसकेपछि ती दुवै जनाले केही पर गुडिरहेको गाडीभित्र आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। सान डिएगोका प्रहरी प्रमुख स्कट वाह्लका अनुसार यो घटना निश्चित रूपमा ‘घृणा फैलाउने अपराध’ हो।

यस घटनामा एउटा महत्त्वपूर्ण तथ्य बाहिर आएको छ। घटना हुनुभन्दा केही घण्टा अघि, बिहान करिब ९:४० बजे, एक जना आक्रमणकारी किशोरकी आमाले प्रहरीलाई दूरभाष (फोन) गरेकी थिइन्। उनले आफ्नो छोरा, केही हतियार र गाडीसहित बेपत्ता भएको जानकारी दिएकी थिइन्।

ती आमाले छोराले छोडेको एउटा पत्र (नोट) पनि फेला पारेकी थिइन्, जसमा अरू धर्म वा समुदायप्रति घृणा भरिएका कुराहरू लेखिएका थिए। प्रहरीले ती किशोरहरूलाई खोज्ने प्रयास गर्दागर्दै यो दुःखद घटना घट्न पुग्यो। गोली चलाउनेमध्ये एक जना नजिकैको म्याडिसन हाई स्कुल(माध्यमिक बिद्यालय)का विद्यार्थी थिए।

यस घटनामा मस्जिदका सुरक्षाकर्मी (सेक्युरिटी गार्ड) को भूमिका निकै सह्रानीय र बहादुरीपूर्ण रह्यो।

ज्यान गुमाउनेहरूमध्ये एक जना उनी पनि हुन्। प्रहरी प्रमुख वाह्लका अनुसार ती सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा पारेर बन्दुकधारीहरूलाई रोक्न खोजेका थिए।

Screenshot

यदि उनले समयमै बहादुरी नदेखाएको भए अझ धेरै मानिस र बालबालिकाको ज्यान जान सक्थ्यो। उनको यो कदम साँच्चै वीरतापू्र्ण थियो, जसले धेरैको जीवन बचायो।

एपीका अनुसार यो इस्लामिक सेन्टर निकै ठूलो छ । त्यहाँ ५ वर्षभन्दा माथिका बालबालिकाहरू अरबी भाषा र कुरान पढ्ने गर्छन्। घटनाको समयमा त्यहाँ धेरै बालबालिकाहरू थिए। प्रहरी टोली खबर पाएको ४ मिनेटभित्रै घटनास्थलमा पुगेको थियो।

श्रब्यदृश्य(भिडियो )हरूमा प्रहरीले साना बालबालिकाहरूलाई एकअर्काको हात समात्न लगाएर सुरक्षित रूपमा मस्जिद बाहिर निकालिरहेको देखिन्थ्यो। प्रहरी प्रमुखले भावुक हुँदै सबै बालबालिकाहरू सुरक्षित रहेको र उनीहरूलाई आमाबुबाको जिम्मा लगाइएको बताएका छन्।

मस्जिदका निर्देशक इमाम ताहा हसनले धार्मिक स्थलमा यस्तो आक्रमण हुनु निकै निन्दनीय भएको बताएका छन्।

अमेरिकामा रहेका मुस्लिम अधिकारवादी संस्थाहरूले पनि यसको कडा विरोध गरेका छन्।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमको कार्यालयले घटनास्थलमा खटिएका सुरक्षाकर्मी र उद्धार टोलीलाई धन्यवाद दिँदै स्थानीय नागरिकलाई संयमित रहन र प्रहरीको नियम पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया