
अमेरिकाको सिकागोस्थित एउटा अदालतको निर्णायक मण्डल अर्थात् ज्युरीले सन् २०१९ मा भएको बोइङ ७३७ म्याक्स विमान दुर्घटनामा ज्यान गुमाएकी एक २४ वर्षीया अमेरिकी युवतीको परिवारलाई ४९.५ मिलियन डलर क्षतिपूर्ति दिन आदेश दिएको छ।
सिबिएसन्यूजका अनुसार यो मुद्धा साम्या स्टुमो नामकी युवतीको परिवारले दर्ता गरेका थिए। साम्याको मार्च २०१९ मा इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएको थियो। उक्त भयानक दुर्घटनामा १५७ जनाको ज्यान गएको थियो। अदालतमा दुई घण्टा चल्ने बहसपछि न्यायाधीशहरूले पीडित परिवारलाई उक्त ठूलो रकम क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएका हुन्।
यो विमान दुर्घटनासँग जोडिएका लगभग सबैजसो मुद्दाहरू अदालत बाहिरै आपसी सहमतिमा सुल्झिएका थिए। तर, साम्याको परिवारले विमान निर्माता कम्पनी ‘बोइङ’ सँग कुनै सम्झौता गर्न मानेको थिएन र यो मुद्दा अदालतसम्म पुगेको थियो। अदालतको फैसलापछि बोइङ कम्पनी(प्रतिष्ठान)ले दुख व्यक्त गर्दै पीडित परिवारको कानुनी लडाइँ लड्ने अधिकारको सम्मान गर्ने बताएको छ। साम्या एक संस्थामा आबद्ध भई स्वास्थ्य क्षेत्रमा काम गर्न पहिलो पटक अफ्रिका जाँदै गर्दा सो दुर्घटनामा परेकी थिइन्।
सन् २०१९ को उक्त दुर्घटना हुनुभन्दा साढे चार महिना अघि इन्डोनेसियामा पनि सोही मोडलको (बोइङ ७३७ म्याक्स ८) विमान दुर्घटना हुँदा १८९ जनाको ज्यान गएको थियो। यी दुवै दुर्घटनापछि बोइङ कम्पनीले आफ्ना सबै ७३७ म्याक्स विमानहरूलाई झण्डै दुई वर्षसम्म उडान भर्न नदिई थन्क्याउनु परेको थियो। पछि विमानको प्रविधि र सफ्टवेयर(तन्त्राश) सुधारेर मात्र तिनीहरूलाई फेरि उडाइएको थियो।
प्रतिष्ठानमाथि विमानको खराबी लुकाएर सरकार र नियमनकारी निकायलाई झुक्याएको भन्दै फौजदारी ठगीको मुद्दा समेत लागेको थियो।
तर, बोइङ कम्पनीले १.१ बिलियन डलरभन्दा बढी जरिवाना तिर्न र पीडित परिवारका लागि थप ४४५ मिलियन डलर क्षतिपूर्ति दिन मञ्जुर गरेपछि सरकारी वकिलहरूले उक्त आपराधिक मुद्दा फिर्ता लिएका थिए।
प्रतिक्रिया