अमेरिकाको आइडाहोको आकासमै ठोक्किए दुई अमेरिकी सैन्य विमान: ४ बिमानचालकहरूको जोगियो ज्यान

इनेप्लिज २०८३ जेठ ३ गते २२:२८ मा प्रकाशित

अमेरिकाको आइडाहो राज्यमा रहेको ‘माउन्टेन होम एयर फोर्स बेस (सैन्य हवाई अड्डा)मा चलिरहेको एउटा हवाई प्रदर्शनीका क्रममा दुई अमेरिकी सैन्य विमान दुर्घटनामा परेका छन् ।

अमेरिकी नौसेनाका दुईवटा आधुनिक इए -१८ जी सैन्य विमानहरू आकासमै एकआपसमा ठोक्किएका छन्। विमानमा सवार सबै ४ जना चालक दलका सदस्यहरू (पाइलटहरू) समयमै विमानबाट बाहिर निस्कन सफल भएका छन् । फक्सन्यूजले जनाए अनुसार उनीहरू सुरक्षित छन्।

यो घटना आइतबार दिउँसो करिब १२:१० बजे भएको हो। त्यहाँ ‘गनफाइटर स्काइज एयर शो’ अर्थात् आकास हवाई प्रदर्शनी भइरहेको थियो र हजारौँ मानिसहरू विमानहरूको रोमाञ्चक कलाबाजी हेरिरहेका थिए। आकासमा उडिरहेका दुई बिमानहरू अचानक ठोक्किएपछि ठूलो आवाजसहित आगोको डल्लो देखियो र विमानहरू भुइँमा खसेर विस्फोट भए। भुइँमा खस्ने बित्तिकै जताततै कालो धुवाँको ठूलो बादल मडारिएको थियो।

त्यहाँ उपस्थित प्रत्यक्षदर्शीहरूका अनुसार, विमानहरू ठोक्किएर आगो लाग्ने बित्तिकै आकासमा ४ वटा प्यारासुटहरू खुलेका देखिएका थिए। प्रत्येक विमानबाट दुई–दुई जना बिमानचालकहरू ‘इजेक्ट’ (विमानबाट निक्लने प्रविधि) भएर प्यारासुटको सहयोगमा सुरक्षित रूपमा भुइँमा ओर्लिएका थिए। तुरुन्तै अस्पतालका उद्धार टोली र दमकलहरू घटनास्थलमा पुगेर बिमानचालकहरूको स्वास्थ्य जाँच गरिरहेका छन्।

दुर्घटना भएका विमानहरू वासिङ्टन राज्यको ‘इलेक्ट्रोनिक अट्याक स्क्वाड्रन’ का थिए। यी विमानहरू विशेष गरी दुश्मनको सञ्चार प्रणालीलाई जाम गर्ने र हवाई आक्रमण गर्ने काममा प्रयोग गरिन्छ।

अमेरिकी सेनाले यस दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको छ। विमानहरू पूर्ण रूपमा ध्वस्त भए पनि बिमानचालकहरूको चलाखी र सुरक्षा प्रविधिका कारण एउटा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

प्रतिक्रिया