तरूण वयको छोरालाई चिठी

पशुपति घिमिरे २०८३ जेठ ३ गते १७:३४ मा प्रकाशित

पत्र साहित्य

बाबु आज तिम्रो जन्मदिन । तिमी अब किशोर वय पुरा गरी तरूण वयमा आइपुगेका छौ । अठार वर्ष पुरा गरी जवान भएका छौ । जीवनको एक अद्भुत र चुनौतीपूर्ण समय हो यो । यो आफ्नो पहिचान निर्माण गर्ने, आफ्ना मूल्य-मान्यता स्थापित गर्ने, र भविष्यको लागि आधारशिला तयार गर्ने समय पनि हो । यो विशेष दिनमा शुभकामनाका भावहरूले मेरो मन भरिएको छ । सोचको डोरीमा बेरिंदै म नेपालको पाटन अस्पतालको त्यही कोठामा पुगेको छु ,जहाँ मध्यरातमा तिमी उदायौ र यो सुन्दर ग्रहको पहिलो स्पर्श पायौ ।

हाम्रो मायाले उचाल्न सक्ने तौल थियो तिमीसँग त्यसवेला ।पहिलोपल्ट तिमीलाई बोकेर छातीमा टाँस्दा खोई किन हो,गला अवरूद्ध भयो,आँखा डब्डबाए र भरिए । मायाले मन बाउँडियो ।

तिमीलाई छात्तीमा टाँस्दा असैह्य पीडा र लामो सुत्केरी व्यथाले सुकेका तिम्री मामुका ओठहरू पनि मुस्कुराएका थिए । मामु र मेरो सामुहिक अभिव्यक्ति तिमीलाई उचाल्दा म आफैं आफैंलाई बोक्दैछु,म मैलाई उचाल्दै छौ जस्तो लाग्थ्यो । स्नेह र गर्वले छाती ढक्क फुलेको थियो।यो सानो जीवन मै हुँ,यो मेरो अंश हो भन्ठान्थ्यौं हामी । तिमीलाई दुख्दा हामी आफैंलाई दुखे जस्तो,तिमी मुस्कुराउँदा हामी आफैं खुसी भए जस्तो हुन थालेको पनि अठार बर्ष वितिसके । अब तिमी ठूलो भयौ । हाम्रो मायाले उचालिने त्यो तौल हराइगयो बाटामै कतै । अब तिमी हामीलाई नै उचाल्न सक्ने भएका छौ ।

हो तिमीले उचाल्नु पर्ने अभिभाराहरू धेरै छन्,बोक्नु पर्ने बोझहरू धेरै छन्,तिमीले सिक्नु पर्ने ज्ञानहरू धेरै छन् ।

जीवनको यात्रामा यहाँसम्म आइपुग्दा धेरै कुरा सिकी पनि सक्यौ,धेरै कुरा जानी पनि सक्यौ।तर जति सिके पनि जति जाने पनि त्यो कमै हुन्छ । किनभने ज्ञान सागर हो,हामीले लिने भनेको अंजुलीमा हो । अंजुलीमा उगाएर सागरबाट कति पो पानी निकाल्न सकिएला र ! तर हामीले अंजुली भर्न छोड्नु हुँदैन । ज्ञानको सागर धाउन छोड्नु हुँदैन । पुस्तकहरू, अनुभवहरू, र विभिन्न मानिसबाट सिक। ज्ञानले तिम्रो जीवनलाई समृद्ध बनाउँछ। प्रश्न सोध्न नडराऊ र सधैँ नयाँ कुरा सिक्न उत्सुक होऊ ।

तिमीबाट मैले धेरै ठूल्ठूला अपेक्षाहरू राखेको छैन । हुर्किंदै बढ्दै पढ्दै जाँदा जीविकाको केही न केही माध्यम फेला परि नै हाल्छ । भोलिका दिनमा डाक्टर,इन्जिनियर,बैज्ञानिक,शिक्षक,प्राध्यापक बन्ने पनि आजकै बच्चा हुन्,त्यस अनुरूप उद्देश्य राख्नु उत्तम हो तर हरेक बच्चा जसरी पनि डाक्टर वा इन्जिनियर नै बन्नु पर्छ म भन्दिन।अरूलाई हानी र हिंसा नगर्ने जुन कुनै पेशा रोजे हुन्छ । तर तिमीबाट म यत्ति अपेक्षा चाँहि जरूर राख्छु कि तिमीले ठीक र बेठीक,असल र खराब,सही र झूठ,भलो र कुभलो,कुशल र अकुशल,मंगल र अमंगल,सत्य र असत्य चाँहि छुट्याउन जान्नै पर्छ । जब तिमी असल र खराब छुट्याउन जान्दछौ तिमीले खराब छनौट गर्दै गर्दैनौ।जब तिमी सत्य र असत्य छुट्याउन सक्षम हुन्छौ,तिमी सत्य कै पक्षमा हुनेछौ र जब तिमी ठीक र बेठीक छुट्याउन जान्नेछौ तिम्रो छनौट बेठीक हुनै सक्तैन । याद राख, तिमी जति बढ्दै जान्छौ, तिम्रो जिम्मेवारी पनि बढ्दै जान्छ। बुद्धिमत्तापूर्वक छनौट गर र आफ्ना छनौट र कार्यहरूको जिम्मेवारी लिन सिक। तिम्रा छनौटहरूले तिम्रो भविष्य निर्धारण गर्नेछन्।

अर्को कुरा बोल्दा सधैं विचार गरेर बोल्नु पर्छ । सत्य,प्रिय र मीठो बोल्ने कोसिस गर्नु पर्छ।अरूलाई बिझाउने दुखाउने गरी बोल्नु हुँदैन भरसक । तर अन्याय सहनु हुँदैन । तिमीले बोलेर न्याय पाउँछ कसैले भने बोल्नु पर्छ ।अरूलाई दमन शोषण र थिचोमिचो गर्नु हुँदैन कसैले । गर्नु पनि हुँदैन,सहनु पनि हुँदैन । अरूप्रति दयालु र सहानुभूतिपूर्ण व्यवहार गर। सानोभन्दा सानो कार्यले पनि अरूको जीवनमा ठूलो प्रभाव पार्न सक्छ। तिम्रा शब्द र कार्यहरूले अरूलाई उत्साह दिने र उठाउने प्रयास गर सधैं। आफूलाई चिन्न सिक, आफ्नो सबल पक्ष र कमजोरीहरू बुझ। आफ्नो प्रतिभा र क्षमताहरूमा विश्वास गर र तिनीहरूलाई निखार्ने प्रयास गर। आफूमाथि विश्वास राख।

हामी सधैं के कुरामा विचारशील हुनुपर्छ भने आज हामी केही पाइरहेका छौं,खाइरहेका छौं भने त्यो कसैका कर्मका कारण भइरहेको छ ।ती कर्मी र किसान प्रति हामी कृतज्ञ रहनु पर्छ,तिनको मेहनतको मर्म बुझ्नु पर्छ।यदि तिमीले फूल बनेर मुस्कुराउने योग्यता हासिल गर्यौ भने नसम्झनु कि त्यो तिम्रै मात्रै जोड,बल र योग्यताले भएको हो।नजिकै तिमीलाई उचालिरहेको डाँठलाई हेर्नु,तिम्रा लागि खाना बनाइदिने पातलाई हेर्नु,धर्ती पक्रेर सिंगो बोट थामिदिने जरालाई हेर्नु र कृतज्ञ रहनू सबैप्रति ।यो भावले अहंकार र ममकारलाई बढ्न दिंदैन ।

बाबु,मान्छेको मन जमीन जस्तै हो । यसमा अनेक किसिमका विचारका झारहरू उम्रिन्छन् ।केही विषालु हुन्छन्,केही नशालु हुन्छन्,केही औषधीय गुणले भरिपूर्ण हुन्छन्।चिन्न सक्नु पर्छ । तिमी यो झारको झन्झटमा नलाग ।मनको मैदानलाई सद्विचारको हलोले जोत,कर्मको कोदालाले खन,सत्कर्मले सिंचन गर,पौरख,पराक्रम र पसिनाको बलमा बाली लगाऊ,फूल फूलाऊ,फल फलाऊ,शान्ति र आनन्दले जीवन विताउ ।

प्रिय छोरा,तिम्रो यो तरूणावस्थाको यस महत्त्वपूर्ण जन्मदिनमा यस्तै शुभकामनाहरू बाहेक अरू के भनूँ र ! आज तिमी एक वर्ष बढी परिपक्व, एक वर्ष बढी बुद्धिमान् र एक वर्ष बढी जीवनको यात्रामा अघि बढेका छौ।

हाम्रा हत्केलामै आँट्ने त्यो सानो आकारदेखि हामी भन्दा ठूलो हुँदासम्मको तिम्रो विकासलाई हेर्दा, हामीलाई अत्यन्त गर्व लाग्छ। तिमीमा देखिएको जिज्ञासा,सिक्ने उत्साह, र चुनौतीहरूको सामना गर्ने साहस देख्दा मन प्रफुल्लित हुन्छ। तिम्रो हाँसो, तिम्रो उत्साह र तिम्रा सपनाहरूले हाम्रो घरलाई उज्यालो बनाएको छ।

जीवनमा सधैं सफलता मात्रै हात पर्दैन,असफलताहरूलाई पनि सिकाइको अवसरको रूपमा लेऊ,जीवनमा उतारचढाव आउनेछन्, तर याद राख, हरेक असफलता एक पाठ हो, हरेक गल्ती एक अनुभव हो। ती अनुभवहरूबाट सिक र अझ बलियो बन। समय अनमोल छ र एकपटक बितिसकेपछि फर्कँदैन। हरेक दिनलाई अर्थपूर्ण बनाउने प्रयास गर र प्रत्येक क्षणको सदुपयोग गर। समयको महत्त्व बुझ।

तिम्रो सफलतामा खुसी हुन, तिम्रो दुःखमा सान्त्वना दिन, र तिम्रो यात्रामा मार्गदर्शन गर्न हामी सधैँ तिम्रो साथमा छौं । तिम्रा सपनाहरू पछ्याउँदै जाऊ, तर त्यस क्रममा आफ्नो संस्कृति,मूल्य-मान्यता र सिद्धान्तहरूलाई नबिर्स। मलाई विश्वास छ कि तिमी एक असल, ज्ञानी र सम्मानित व्यक्ति बन्नेछौ। जन्मदिनको यस विशेष दिनमा, हामी प्रार्थना गर्दछौं कि तिम्रो जीवन आनन्द, प्रेम, ज्ञान र सफलताले भरिपूर्ण होस्। सधैँ सिक्न,बढ्न र हाँस्न जारी राख। शुभकामना र अपार माया सहित, बाबा मामु

प्रतिक्रिया