चिनियाँ राष्ट्रपति सीलाई ह्वाइट हाउसमा ट्रम्पद्वारा निम्तो,बेइजिङमा भव्य राजकीय भोज

"अमेरिकालाई महान् बनाउने र चीनको उत्थान सँगसँगै सम्भव छ": राष्ट्रपति सी जिनपिङ

इनेप्लिज २०८३ वैशाख ३१ गते ११:०९ मा प्रकाशित

चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनकी श्रीमती म्याडम पेङलाई अमेरिका भ्रमणको औपचारिक निम्तो दिएका छन् । बेइजिङमा आयोजित भव्य राजकीय रात्रिभोजको क्रममा ट्रम्पले उनिहरूलाई आगामी सेप्टेम्बर २४ मा ह्वाइट हाउस आउन आग्रह गरेका छन् ।

भोजको सुरुमा शुभकामना मन्तव्य राख्दै चिनियाँ राष्ट्रपति सीले चीन र अमेरिका संसारकै सबैभन्दा महत्वपूर्ण दुई देश भएको बताए । उनले भने , “हामीले यो सम्बन्धलाई सफल बनाउनै पर्छ र कहिल्यै बिगार्नु हुँदैन।” उनले अगाडि भने , “चीनको प्रगति र अमेरिकालाई फेरि महान् बनाउनेअभियान सँगसँगै अगाडि बढ्न सक्छन्। हामी दुश्मन होइन, असल साझेदार बन्नुपर्छ।”

राष्ट्रपति ट्रम्पले चीनमा आफूले पाएको भव्य स्वागतको प्रशंसा गर्दै यसलाई “अभूतपूर्व” भने । उनले राष्ट्रपति सीलाई धन्यवाद दिँदै भने , “यो मेरो लागि ठूलो सम्मानको कुरा हो र आजको दिन निकै शानदार रह्यो।” ट्रम्पले दुई नेताबीच भएका कुराकानीहरू निकै सकारात्मक भएको र यसले दुवै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

अमेरिकाको २५०औँ स्वतन्त्रता वर्षगाँठको अवसरमा हुन लागेको यो उच्चस्तरीय भेटघाटले विश्व राजनीतिमा ठूलो सन्देश दिएको छ। दुवै नेताहरूले एकअर्काको देशको हितमा मिलेर काम गर्ने वाचा गरेका छन्। सेप्टेम्बरमा वासिङ्टन डिसीमा हुने भेटले यी दुई शक्तिशाली राष्ट्रबीचको व्यापारिक र राजनीतिक सम्बन्धलाई झन् नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया