
राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको वार्ताको पहिलो चरण सकिएपछि चीनले ‘ताइवान’को विषयलाई लिएर आफ्नो कडा धारणा सार्वजनिक गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङका अनुसार, राष्ट्रपति सीले ताइवानको मुद्दालाई दुई देशबीचको सम्बन्धको सबैभन्दा महत्वपूर्ण र संवेदनशील कडीका रूपमा प्रस्तुत गरेका छन् ।
ताइवानको विषयमा चीनको चेतावनी:
ताइवानको समस्यालाई सही ढंगले समाधान गरियो भने मात्र दुई देशको सम्बन्ध स्थिर रहने ,चीनले स्पष्ट पारेको छ । अन्यथा, चीन र अमेरिकाबीच ठूलो टकराव वा द्वन्द्व हुन सक्ने र यसले पूरै सम्बन्धलाई संकटमा पार्न सक्ने चेतावनी चीनले दिएको छ। प्रवक्ता माओले ताइवानको स्वतन्त्रता र शान्तिलाई ‘आगो र पानी’ जस्तै नमिल्ने कुरा भन्दै समुद्री क्षेत्रमा शान्ति राख्नु नै दुवै देशको साझा फाइदा भएको बताएका छन् ।

बिहीबार दिउँसो १ बजेतिर दुवै नेताहरू बेइजिङको ऐतिहासिक १५ औँ शताब्दीको ‘टेम्पल अफ हेभन’ (स्वर्गको मन्दिर) पुगेका थिए । वार्ता कस्तो रह्यो भनेर सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले संक्षिप्तमा “यो निकै राम्रो रह्यो” भने । यद्यपि, उनले ताइवानको बारेमा सोधिएका प्रश्नहरूको भने कुनै जवाफ दिएनन् । उक्त भ्रमणपछि ट्रम्प आफ्नो अतिथिगृह (होटल) फर्किएका छन् । उनि साँझ ‘ग्रेट हल अफ द पिपल’ मा आयोजना हुने विशेष रात्रिभोजमा सहभागी हुने छन् ।
ह्वाइट हाउसको जानकारी: व्यापार र सुरक्षामा सहमति :
अमेरिकी राष्ट्रपति निवास ‘ह्वाइट हाउस’ले यस बैठकलाई निकै फलदायी भनेको छ। बैठकमा मुख्यगरी अमेरिकी व्यवसायीहरूका लागि चीनमा व्यापार गर्ने बाटो खोल्ने र आर्थिक सहयोग बढाउने विषयमा छलफल भएको छ। चीनले अमेरिकाबाट कृषि उत्पादनहरू बढी मात्रामा किन्ने र खतरनाक लागुऔषध (फेन्टानेल) को ओसारपसार रोक्न सहयोग गर्ने सहमति पनि भएको छ।
साथै, दुवै देशले विश्वको ऊर्जा सुरक्षाका लागि ‘हर्मुज जलडमरू’ खुला राख्नुपर्नेमा जोड दिएका छन्। चीनले अमेरिकाबाट थप तेल किन्ने इच्छा देखाएको छ र दुवै नेताहरू इरानसँग परमाणु हतियार हुनुहुँदैन भन्ने कुरामा सहमत भएका छन्।

प्रतिक्रिया