समाजको ऐनामा एकल महिला: सोच बदल्ने कि नजरिया

इनेप्लिज २०८३ वैशाख ३१ गते १०:४१ मा प्रकाशित

मेरिना सापकोटा


नेपाली समाज द्रुत गतिमा आधुनिकता तर्फ लम्किरहेको छ। प्रविधि, शिक्षा र पूर्वाधारमा हामीले ठुलो फड्को मारिसक्यौँ। तर, जब कुरा (एकल महिला, विधवा, सम्बन्धविच्छेद भएका वा अविवाहित) को आउँछ, तब हाम्रो समाजको पुरातनवादी सोच अझै पनि कतै न कतै अल्झिएको भान हुन्छ। आजको २१ औँ शताब्दीमा पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा अपेक्षित सुधार आउन सकेको छैन।

आजका एकल महिलाहरू केवल घरभित्र सीमित छैनन्। उनीहरू उद्यमी, कर्मचारी, र समाजका नेतृत्वदायी भूमिकामा छन्। यद्यपि, उनीहरूको सफलतालाई पनि समाजले शङ्काको घेरामा राख्ने गर्छ। एक्लै बस्ने महिलाले कसरी यति प्रगति गरीरुू भन्ने प्रश्न उठाउनु नै हाम्रो सामाजिक संकीर्णताको पराकाष्ठा हो। सम्बन्धविच्छेद गरेर बसेकी महिलालाई त झन् परिवार बिगारेकोु आरोप लगाएर मानसिक तनाव दिने गरिन्छ, जबकि पुरुषको हकमा भने यस्ता प्रश्नहरू विरलै उठ्छन्।

समाजमा व्याप्त विभेद र असुरक्षाका कारण धेरै एकल महिला, विशेष गरी सम्बन्धविच्छेद भएकाहरूले नचाहँदा नचाहँदै पनि पुनः विवाहलाई एउटा सुरक्षा कवचु का रूपमा रोज्नुपर्ने बाध्यात्मक अवस्था छ। सम्बन्धविच्छेदपछि महिलाले खेप्नुपर्ने सामाजिक लाञ्छना, चरित्रहीन भनी लगाइने कलङ्क, र एक्लै बस्दा आइपर्ने शारीरिक तथा मानसिक हिंसाबाट बच्न उनीहरूलाई परिवार र समाजले नै पुनः विवाहका लागि दबाब दिने गर्छन्। कतिपय अवस्थामा, आफ्नै सुरक्षा र छोराछोरीको भविष्यका लागि पनि उनीहरूले नयाँ सहारा खोज्नुपर्ने स्थिति सिर्जना हुन्छ। यसले के प्रष्ट पार्छ भने, हाम्रो समाज अझै पनि एक महिलालाई स्वतन्त्र र निर्भय भएर बाँच्ने वातावरण दिन सक्षम छैनस जहाँ एक पुरुषको उपस्थिति बिना महिलाको सुरक्षा र सम्मान अझै पनि जोखिममा रहने देखिन्छ।

नेपालको संविधानले महिलाका हक र अधिकारलाई सुनिश्चित गरेको छ। सम्पत्तिमा समान अधिकार र राज्यका हरेक तहमा सहभागिताको ग्यारेन्टी छ। तर, कानुनका पानामा लेखिएका अधिकारहरू व्यवहारमा उतार्न सामाजिक सोचको पर्खाल बाधक बनेको छ। एकल महिलाका लागि सरकारी भत्ता र कोटा मात्र पर्याप्त छैनन्। उनीहरूलाई चाहिएको त केवलस् सम्मानजनक व्यवहार (उनीहरूको वैयक्तिक स्वतन्त्रताको कदर), सुरक्षित वातावरण (चरित्र हत्या र मानसिक हिंसाबाट मुक्ति) र समान अवसर (क्षमताको आधारमा काम र मूल्याङ्कन)।

एकल हुनु कुनै अभिशाप होइन, यो एउटा जीवनको अवस्था मात्र हो। कुनै पनि महिलाको अस्तित्व कसैको श्रीमती वा छोरी हुनुमा मात्र सीमित छैनस उनी आफैँमा एउटा पूर्ण व्यक्तित्व हुन्। जबसम्म हामीले एकल महिलालाई दयाको पात्रु भन्दा पनि शक्तिको स्रोतु का रूपमा स्वीकार गर्दैनौँ, तबसम्म हाम्रो समाज वास्तविक अर्थमा सभ्य हुन सक्दैन। अब समय आएको छ—पुराना र रुढिवादी चस्मा फुकालेर उनीहरूको साहस र सङ्घर्षलाई सम्मान गर्ने। समाज बदल्न सुरु आफैँबाट गरौँ।

प्रतिक्रिया