
इरान र अमेरिकाबीच कूटनीतिक प्रयासहरू जारी रहेकै बेला, बुधबार हर्मुज जलडमरूमा इरानले आफ्ना ३४२ वटा ‘फास्ट-अट्याक’ (तीव्र गतिमा आक्रमण गर्ने) लडाकु डुङ्गाहरू परिचालन गरेको छ। समुद्री गतिविधिमाथि निगरानी राख्ने संस्था ‘विन्डवार्ड एआई’का अनुसार इरानले यी डुङ्गाहरूलाई पाँचवटा विभिन्न क्षेत्रमा तैनाथ गरेर यस महत्वपूर्ण समुद्री मार्गमा आफ्नो पकड झन् कसिलो बनाएको छ।
यसअघि मे ११ मा करिब २०० डुङ्गाहरूले यस क्षेत्रमा अवरोध सिर्जना गरेका थिए। मंगलबार यो संख्या बढेर ४५४ पुगेको थियो, जुन बुधबार थोरै घटेर ३४२ मा झरेको छ। तर, यो संख्या सामान्य अवस्थाको तुलनामा निकै धेरै हो। इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ का यी साना तर शक्तिशाली डुङ्गाहरूले ‘स्वार्म’ (झुण्ड) बनाएर ठूला व्यापारिक जहाजहरूलाई घेर्ने र बाटो छेक्ने काम गरिरहेका छन्।
फक्सन्यूजका अनुसार इरानी सेनाको यो रणनीतिक घेराबन्दीका कारण अहिले हर्मुज जलडमरूमा व्यापारिक गतिविधि पूर्ण रूपमा ठप्प भएको छ। ठूला मालवाहक र तेल बोक्ने जहाजहरू अगाडि बढ्न नसकी समुद्रको बीचमै स्थिर अवस्थामा रहेका छन्। यो मार्ग संसारभरिको तेल र इन्धन ढुवानीका लागि सबैभन्दा महत्वपूर्ण बाटो भएकाले यसले विश्व बजारमै संकट निम्त्याउन सक्ने देखिएको छ।
इरानले अब हर्मुज जलडमरूको भौगोलिक परिभाषालाई पनि परिवर्तन गरेको छ। इरानी नौसेनाका उप-राजनीतिक निर्देशक मोहम्मद अकबरजादेहका अनुसार, इरानले अब यस क्षेत्रलाई केवल एउटा साँघुरो समुद्री बाटोका रूपमा मात्र नहेरी एक ‘विशाल सैन्य कारवाही क्षेत्र’का रूपमा लिएको छ।
तस्बिर : कृतिम बुद्धिमत्ता (एआइ)
प्रतिक्रिया