
इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबार इजरायललाई सहयोग गर्ने र तेहरान (इरान) विरुद्ध लाग्ने राष्ट्रहरूलाई कडा चेतावनी दिएका छन् । उनले इजरायलसँग मिलेर इरानविरुद्ध काम गर्नेहरूले गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानबीच गोप्य भेटघाट भएको समाचार बाहिरिएपछि इरान आक्रोशित भएको हो। नेतन्याहुको कार्यालयले युद्धको समयमा यी दुई नेताबीच गोप्य भेट भएको र यसले इजरायल र युएईबीचको सम्बन्धमा ऐतिहासिक सुधार ल्याएको दाबी गरेको छ।
यस घटनाप्रति प्रतिक्रिया दिँदै विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् , “इजरायलले जे कुरा अहिले सार्वजनिक गरेको छ, त्यो हाम्रो सुरक्षा निकायले धेरै पहिले नै नेतृत्वलाई जानकारी गराइसकेको थियो।”
अहिले मध्यपूर्वमा इजरायल र इरानबीच ठूलो तनाव छ। यस्तो बेला मुसलमान( मुस्लिम)राष्ट्र युएईले इजरायलसँग हात मिलाउनुलाई इरानले आफ्नो सुरक्षाका लागि खतरा र धोका मानेको छ।
तर संयुक्त अरब इमिरेट्सले बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कथित भ्रमणका बारेमा बाहिरिएका समाचारहरूलाई आधिकारिक रूपमा अस्वीकार गरेको छ। युएईको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नेतन्याहुले युएई भ्रमण गरेको वा कुनै पनि इजरायली सैन्य टोलीलाई स्वागत गरिएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारेको छ।
प्रतिक्रिया