
अमेरिकाको युटाहा राज्यमा आफ्नो श्रीमानलाई विष खुवाएर हत्या गरेको आरोपमा दोषी ठहरिएकी अमेरिकी महिला कोरी रिचिन्सलाई आज अदालतले सजाय सुनाउँदैछ। ३५ वर्षीया कोरीले सन् २०२२ मा आफ्ना ३९ वर्षीय श्रीमान एरिक रिचिन्सलाई ‘फेन्टानिल’ नामक घातक नशालु पदार्थ (विष) खुवाएर हत्या गरेकी थिइन्।
छानबिनका अनुसार, कोरीले श्रीमानको हत्या गर्नुभन्दा दुई हप्ता अघि ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसरमा स्यान्डविचमा विष मिसाएर मार्ने प्रयास गरेकी थिइन्। एबिसीन्यूजका अनुसार त्यतिबेला एरिक बाँच्न सफल भए पनि मार्च ४ मा कोरीले उनलाई पेय पदार्थ (ड्रिंक) मा अत्यधिक मात्रामा विष मिसाएर खुवाइन्। एरिकको शरीरमा ज्यान जानका लागि चाहिने भन्दा पाँच गुणा बढी विष भेटिएको थियो।
पैसाको लोभ र झुटो नाटक :
हत्याको मुख्य कारण पैसा र बिमा रहेको प्रहरीले जनाएको छ। कोरीले श्रीमानको नाममा किर्ते हस्ताक्षर गरेर १ लाख डलरको बिमा गराएकी थिइन्। श्रीमानको मृत्युपछि उनले शोकमा डुबेका बच्चाहरूका लागि भन्दै ‘दुःख कसरी सहने’ भन्ने विषयमा एउटा बाल-पुस्तक समेत लेखेर प्रकाशित गरेकी थिइन्। तर, वास्तवमा उनी आफैँ हत्यारा भएको प्रमाणित भयो।
छोराहरूको हृदयविदारक बयान :
अदालतमा कोरीका तीन साना छोराहरूले आफ्नै आमा विरुद्ध बयान दिएका छन्। ९ वर्षीय जेठो छोराले भनेका छन्, “मलाई डर लाग्छ, यदि ममी जेलबाट बाहिर आउनुभयो भने उहाँले म र मेरा भाइहरूलाई मार्नुहुनेछ।” छोराहरूले आफ्ना बुबा निकै दयालु र सहयोगी भएको तर आमाबाट सधैँ असुरक्षित महसुस गरेको बताएका छन्।
कोरीलाई ‘एग्राभेटेड मर्डर’ (गम्भीर हत्या) र ठगीका सबै मुद्दामा दोषी पाइएको छ। सरकारी वकिलहरूले उनलाई कहिल्यै जेलबाट बाहिर नआउने गरी सजाय दिन माग गरेका छन्। आजको फैसलाले उनलाई बाँकी जीवन जेलमै बिताउनुपर्ने गरी सजाय तोक्ने सम्भावना छ।
प्रतिक्रिया