
सन् १९९१ अर्थात् नेपालमा २०४७ प्रजातन्त्र आउने समय ताका अमेरिकाको टेक्सस राज्यस्थित अस्टिन शहरमा एउटा हृदयविदारक घटना घटेको थियो। एउटा ‘योगर्ट शप’ (दही पसल) मा काम गर्ने चार जना किशोरीहरूको विभत्स हत्या भयो। यो घटनाले पूरै अमेरिकालाई स्तब्ध बनाएको थियो। तर, यो घटनामा प्रहरीले गलत व्यक्तिहरूलाई पक्राउ गरी जेल पठाउँदा एउटा ठूलो अन्याय भएको थियो, जसको समाधान अहिले ३५ वर्षपछि आएर भएको छ।
एपीका अनुसार सन् १९९१ मा १३ देखि १७ वर्ष उमेरका चार किशोरीहरूलाई बाँधेर गोली हानी हत्या गरिएको थियो । र , प्रमाण मेटाउन पसलमा आगो लगाइएको थियो। प्रहरीले अनुसन्धानका क्रममा रोबर्ट स्प्रिंगस्टीन, माइकल स्कट, फरेस्ट वेलबर्न र मौरिस पियर्स नामका चार युवकहरूलाई पक्राउ गर्यो। तीमध्ये एकजनालाई मृत्युदण्ड र अर्कालाई जन्मकैदको सजाय सुनाइएको थियो।
यी चारै जनाले आफूहरू निर्दोष रहेको बारम्बार बताइरहेका थिए। प्रहरीले उनीहरूलाई जबरजस्ती डर-धम्की देखाएर “अपराध स्वीकार गरेको” कागजमा हस्ताक्षर गराएको थियो। तर, वास्तवमा उनीहरूले त्यो अपराध गरेका थिएनन्। प्रहरीको गलत अनुसन्धानका कारण उनीहरूले आफ्नो जीवनका महत्वपूर्ण वर्षहरू जेलमा बिताउनुपर्यो। मौरिस पियर्सको त सन् २०१० मै मृत्यु भइसकेको छ।
डिएनए प्रविधिले खोल्यो रहस्य:
विज्ञानको विकाससँगै सन् २०२५ मा गरिएको आधुनिक ‘डिएनए’ परीक्षणले असली अपराधी अर्कै व्यक्ति भएको पत्ता लगायो। अनुसन्धानकर्ताहरूले रोबर्ट युजिन ब्रशर्स नामका व्यक्तिको डिएनए र घटनास्थलमा भेटिएको नमुना मेल खाएको फेला पारे। ती असली अपराधी ब्रशर्सको सन् १९९९ मै प्रहरीसँगको मुठभेडका क्रममा मृत्यु भइसकेको थियो। उनले अन्य धेरै ठाउँमा पनि यस्तै अपराध गरेको पुष्टि भयो।
गएको फेब्रुअरीमा अदालतले ती चारै जनालाई पूर्ण रूपमा ‘निर्दोष’ घोषणा गर्यो। टेक्सस अस्टिन शहरले आफ्नो गल्ती स्वीकार गर्दै ती तीन जीवित व्यक्तिहरू र ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई गरी कुल ३५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति दिने सम्झौता गरेको छ।
शहरका प्रबन्धक टी.सी. ब्रोडन्याक्सले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो सम्झौताले अस्टिनको इतिहासको एउटा दुखद अध्याय समाप्त गरेको छ। हामी गलत तरिकाले आरोपित व्यक्तिहरूसँग सम्झौता गर्न पाउँदा खुसी छौँ र आशा छ कि यसले पीडित परिवारहरूलाई केही राहत दिनेछ।”
अहिले अस्टिन प्रहरीले आफ्नो अनुसन्धान गर्ने तरिकामा सुधार ल्याउने प्रतिवद्धता समेत जनाएको छ ताकि भविष्यमा कुनै पनि निर्दोष व्यक्तिले यसरी दुःख पाउनु नपरोस्।
प्रतिक्रिया