अमेरिकामा अदालतको झमेला र हिरासतको सास्ती: आप्रवासीहरू स्वेच्छाले देश छोड्ने निर्णय लिनेको संख्यामा १० गुणा वृद्धि

'घर फर्कनु नै उत्तम' भन्दै हजारौँ आप्रवासी बाहिरिँदै

इनेप्लिज २०८३ वैशाख ३० गते ०:५० मा प्रकाशित

हालै सार्वजनिक भएको एक महत्वपूर्ण प्रतिवेदनले अमेरिकामा रहेका आप्रवासीहरूको जीवनमा आएको ठूलो परिवर्तनलाई उजागर गरेको छ। ‘भेरा इन्स्टिच्युट अफ जस्टिस’ द्वारा जारी तथ्याङ्क अनुसार, अहिले धेरै आप्रवासीहरूले अमेरिकी अदालतमा आफ्नो मुद्दा लड्नुको साटो “स्वेच्छाले देश छोड्ने” निर्णय गरिरहेका छन्। यो संख्या पहिलेको तुलनामा निकै डरलाग्दो गरी बढेको पाइएको छ।

सिबिएसन्यूजले प्रकाशित गरेको एक समाचार अनुसार तथ्याङ्कलाई हेर्ने हो भने, राष्ट्रपति बाइडेनको कार्यकालको अन्त्यतिर प्रतिमहिना करिब ८०० जनाले मात्र स्वेच्छाले देश छोड्ने गर्थे।

तर, सन् २०२६ को फेब्रुअरीसम्म आइपुग्दा यो संख्या बढेर प्रतिमहिना ८,८०० भन्दा बढी पुगेको छ। यसको अर्थ अहिले १० गुणाभन्दा बढी मानिसहरू अमेरिका छोड्ने तयारीमा छन्। विशेष गरी अमेरिकाका तीन–चौथाई राज्यहरूमा यस्तो लहर देखिएको छ।

स्वेच्छिक प्रस्थान र देशनिकाला बीचको फरक:

‘देशनिकाला’ मा सरकारले जबरजस्ती मानिसहरूलाई पठाउँछ। तर ‘स्वेच्छिक प्रस्थान’ मा आप्रवासी आफैँले न्यायाधीशसँग “म आफ्नै खुसीले जान्छौँ” भनी अनुमति माग्छन्। यसो गर्दा पछि भविष्यमा फेरि कानुनी रूपमा अमेरिका आउने बाटो केही हदसम्म खुल्ला रहन सक्छ। तर प्रतिवेदनका लेखक ज्याकलिन पाभिलोनका अनुसार, मानिसहरूले रहरले नभई बाध्यताले यो बाटो रोजिरहेका छन्।

यसरी मानिसहरूले हार मान्नुका पछाडि मुख्य दुई कारणहरू छन् । एक कठोर हिरासत र दोश्रो नयाँ न्यायाधीशहरूको भूमिका ।

हिरासतमा रहेका आप्रवासीहरूले त्यहाँको जीवन निकै कष्टकर महसुस गरिरहेका छन्। लामो समयसम्म थुनामा बस्नुभन्दा आफ्नै देश फर्कनु उनीहरूलाई उचित लागिरहेको छ।

ट्रम्प प्रशासनले नियुक्त गरेका नयाँ न्यायाधीशहरूले पुरानाको तुलनामा धेरै छिटो र कडा निर्णयहरू सुनाइरहेका छन्। प्रतिवेदनका अनुसार, ९३ प्रतिशतभन्दा बढी हिरासतमा रहेका आप्रवासीहरूलाई कुनै न कुनै रूपमा देश छोड्नै पर्ने आदेश दिइएको छ।

प्रतिवेदनका अनुसार यदि कुनै आप्रवासीसँग कानुनी सल्लाहकार वा वकिल छ भने न्यायाधीशहरूले उनीहरूलाई देश छोड्न कम प्रोत्साहन गर्छन्। तर वकिल नहुने र हिरासतमा रहेकाहरूका लागि भने परिस्थिति निकै कठिन छ।

धेरै आप्रवासीहरूसँग कानुनी रूपमा अमेरिकामै बस्ने अधिकार वा आधारहरू हुँदाहुँदै पनि, प्रशासनको कडा नीति र लामो कानुनी प्रक्रियाको डरले उनीहरू आफ्नो सपना अधुरै छोडेर घर फर्कन बाध्य भएका छन्। यसले गर्दा अमेरिकामा बस्न पाउने आप्रवासीहरूको हिस्सा दिनप्रतिदिन खुम्चिँदै गएको छ।

प्रतिक्रिया