अमेरिकामा राजनीतिक पदको दुरुपयोग: चिनियाँ गुप्तचरका रूपमा काम गर्ने क्यालिफोर्निया राज्यस्थित आर्केडियाकी नगर प्रमुख समातिइन्

इनेप्लिज २०८३ वैशाख २९ गते १:०४ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित आर्केडिया शहरकी नगर प्रमुख आइलिन वाङ माथि चीनको अवैध एजेन्ट(गुप्तचर)को रूपमा काम गरेको गम्भीर आरोप लागेको छ। अमेरिकी न्याय बिभागका अनुसार, वाङले आफ्नो गल्ती स्वीकार गर्दै अदालतमा ‘गिल्टी प्ली’ (दोषी भएको स्वीकारोक्ति) गर्न मन्जुर भएकी छिन्।

एबिसीन्यूजका अनुसार सन् २०२० को अन्त्यतिर आइलिन वाङ र याओनिङ ‘माइक’ सन मिलेर ‘यूएस न्यूज सेन्टर’ नामक एउटा वेबसाइट (संजालस्थल)सञ्चालन गरेका थिए। यो संजालस्थल स्थानीय चिनियाँ-अमेरिकी समुदायका लागि समाचारको स्रोत भएको दाबी गरिएको थियो। तर, वास्तवमा यो चिनियाँ सरकारको कार्यसूची फैलाउने माध्यम बनेको थियो।

न्याय बिभागका अनुसार, वाङ र सनले चिनियाँ सरकारी अधिकारीहरूबाट सिधै निर्देशनहरू लिने गर्थे। उनीहरूले संजालस्थल (वेबसाइट)मा चीनको समर्थनमा लेखहरू राख्ने र कुन सामग्री प्रकाशन गर्ने भन्ने बारेमा समेत चिनियाँ अधिकारीहरूसँग अनुमति लिने गरेको खुलासा भएको छ।

एउटा घटनामा, सन् २०२१ नोभेम्बरमा वाङले चिनियाँ र रुसी राजदूतले अमेरिकालाई चीनको ‘प्रजातान्त्रिक अधिकार’ सम्मान गर्न आग्रह गरेको लेख फैलाउन चाहेकी थिइन्। उनले “यो चीनको विदेश मन्त्रालयले पठाउन चाहेको सामग्री हो” भन्दै चिनियाँ स्वार्थका लागि काम गरेको स्वीकार गरेकी छिन्।

अमेरिकी कानुन अनुसार, कुनै पनि विदेशी सरकारका लागि काम गर्दा महान्यायाधिवक्तालाई जानकारी दिनुपर्ने हुन्छ, जुन वाङले गरेकी थिइनन्।

राष्ट्रिय सुरक्षाका लागि सहायक महान्यायाधिवक्ता जोन ए. आइसेनबर्गले भनेका छन्, “जनताबाट चुनिएका प्रतिनिधिहरूले केवल अमेरिकी जनताको हितमा काम गर्नुपर्छ। सार्वजनिक पदमा बसेको व्यक्तिले विदेशी सरकारको निर्देशनमा गोप्य रूपमा काम गर्नु निकै चिन्ताको विषय हो।” यो घटनाले पत्रकारिता र राजनीतिमा हुने विदेशी हस्तक्षेपप्रति ठूलो सतर्कता जगाएको छ।

प्रतिक्रिया