टेक्ससको सीमामा स्तब्धकारी घटना: रेलको डब्बाभित्र ६ जना मृत फेला

इनेप्लिज २०८३ वैशाख २८ गते १६:५१ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यस्थित लारेडो शहरमा आइतबार एउटा अत्यन्तै दुःखद घटना घटेको सिविएसन्यूजले समाचार प्रकाशित गरेको छ ।

मेक्सिकोको सीमा नजिकै रहेको यस शहरमा युनियन प्यासिफिक रेल कम्पनीको एउटा बक्सकार (सामान बोक्ने बन्द डब्बा) भित्र ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

स्थानीय प्रहरीका अनुसार, रेलका एक कर्मचारीले कामको सिलसिलामा डब्बा खोल्दा ती शवहरू देखेका थिए।

यो घटना सार्वजनिक भएलगत्तै सुरक्षा निकाय र रेल कम्पनीले यसलाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएका छन्।

 युनियन प्यासिफिकले एक विज्ञप्ति जारी गर्दै यस घटनाबाट आफूहरू स्तब्ध भएको र प्रहरीलाई अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएको छ।

अहिले सम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन भने  उनीहरूको मृत्युको आधिकारिक कारण पनि खुलाइएको छैन। तर, मौसमविद् र स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार लारेडोको तापक्रम करिब ९७ डिग्री फरेनहाइट (३६ डिग्री सेल्सियस) पुगेको थियो।

बन्द रेलको डब्बाभित्रको तापक्रम त १०० डिग्री फरेनहाइट भन्दा पनि निकै बढी भएको हुन सक्ने अनुमान गरिएको छ। यस्तो चरम गर्मीमा बन्द ठाउँमा रहँदा निसास्सिएर ज्यान गएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।

यो क्षेत्र मेक्सिकोको सीमा नजिक पर्ने हुनाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। 

पत्रिकाका अनुसार यो घटना “फ्लुइड इन्भेस्टिगेशन” अर्थात् भर्खरै सुरु भएको र परिवर्तन भइरहने चरणमा रहेकाले थप विवरणहरू आउन बाँकी छ।

लारेडो शहर सान एन्टोनियोबाट करिब १५७ माइल दक्षिण-पश्चिममा पर्दछ। प्रहरीले घटनाबारे थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गर्ने बताएको छ।

प्रतिक्रिया