इरानको स्पष्ट सन्देश: “हामी शान्ति वार्तामा गम्भीर छौँ, तर आफ्नो अधिकार छोड्दैनौँ”

इरान भन्छ– "आवश्यक परे लड्छौँ, नत्र वार्ताबाट समाधान खोज्छौँ

इनेप्लिज २०८३ वैशाख २८ गते १०:२० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको शान्ति प्रस्तावलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै अस्वीकार गरेपछि इरानले आफ्नो धारणा सार्वजनिक गरेको छ। सोमबार आयोजित एक पत्रकार सम्मेलनमा इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ‘इस्माइल बाघाई’ले इरान वार्ताका लागि सधैँ गम्भीर रहेको बताएका छन् ।

प्रवक्ता बाघाईका अनुसार इरानले आफ्नो राष्ट्रिय हित र अधिकारका लागि सधैँ इमानदारीपूर्वक काम गरिरहेको छ। उनले भने , “कूटनीतिक प्रक्रियाका आफ्नै नियमहरू हुन्छन् र हरेक देशले आफ्नो हित हेरेर निर्णय गर्छन्।” इरानले आफू शान्ति वार्तामा सहभागी हुन चाहेको तर त्यसका लागि उचित वातावरण र तर्क हुनुपर्ने कुरामा जोड दिएको छ।

इरानले उल्टै अमेरिकाको इमानदारीमाथि प्रश्न उठाएको छ। प्रवक्ता बाघाईले सन् २०१८ मा अमेरिका कसरी ‘परमाणु सम्झौता’बाट पछि हटेको थियो भन्ने कुरा स्मरण गराए । उनका अनुसार वार्ता जारी रहँदा रहँदै पनि अमेरिकाले विगतमा सैन्य आक्रमणहरू गरेकाले अहिले अमेरिकाले नै आफू कूटनीतिप्रति कति प्रतिबद्ध छ भन्ने कुरा प्रमाणित गर्नुपर्ने बेला आएको छ।

वार्ता र युद्ध दुवैको तयारी :

इरानले आफू वार्ताका लागि तयार भए पनि कुनै पनि परिस्थितिको सामना गर्न सक्षम रहेको बताएको छ। बाघाईले कडा शब्दमा भने , “हामी आवश्यक परेको बेला लड्छौँ र सही समयमा कूटनीति (वार्ता) को हतियार पनि प्रयोग गर्छौँ।”

अहिले अमेरिका र इरानबीचको सम्बन्ध निकै संवेदनशील मोडमा पुगेको छ। एकातिर ट्रम्प इरानका सर्तहरू मान्न तयार हुनुहुन्न भने अर्कोतिर इरान पनि आफ्नो अडानबाट पछि हटेको छैन।

दुई देशबीचको विवाद समाधान गर्न कूटनीति सबैभन्दा ठूलो माध्यम हो, तर यसका लागि दुवै पक्षमा आपसी विश्वास र इमानदारी हुनु आवश्यक छ।

प्रतिक्रिया