इरानको कडा चेतावनी: “हामीमाथि प्रतिबन्ध लगाए हर्मज क्षेत्रमा समस्या भोग्नुपर्ला”

इनेप्लिज २०८३ वैशाख २७ गते १०:०३ मा प्रकाशित

इरानका एक वरिष्ठ सैन्य अधिकारीले इरानमाथि आर्थिक र राजनीतिक प्रतिबन्ध लगाउने देशहरूलाई कडा चेतावनी दिएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार, ती अधिकारीले इरानमाथि प्रतिबन्ध लगाउने राष्ट्रहरूका जहाजहरू ‘हर्मुज जलडमरू’ भएर जाँदा उनीहरूले ठूलो समस्याको सामना गर्नुपर्ने बताएका हुन्।

अमेरिकाले विगत केही दशकदेखि इरानको अर्थतन्त्रलाई कमजोर बनाउन विभिन्न प्रकारका कडा प्रतिबन्धहरू लगाउँदै आएको छ। इरानको हतियार कार्यक्रम, मानव अधिकारको अवस्था र विभिन्न लडाकू समूहहरूलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै बेलायत, अष्ट्रेलिया र युरोपेली संघका देशहरूले पनि अमेरिकालाई साथ दिँदै इरानमाथि प्रतिबन्ध थपेका छन्।

हर्मुज जलडमरू विश्व व्यापार र विशेषगरी तेल आपूर्तिका लागि संसारकै सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ। इरानले यसअघि पनि अमेरिका र इजरायललाई सैन्य सहयोग गर्ने देशका जहाजहरूलाई रोक्ने धम्की दिँदै आएको थियो। अहिले फेरि प्रतिबन्धको बदलामा यो मार्गमा अवरोध सिर्जना गर्ने संकेत दिएपछि विश्वभर चिन्ता बढेको छ।

समुद्री मार्गमा हुन सक्ने अवरोध र खतरालाई मध्यनजर गर्दै धेरै देशहरूले आफ्ना व्यापारिक जहाजहरूको सुरक्षाका लागि संयुक्त प्रयास गर्नेबारे छलफल गरिरहेका छन्। यसैबीच, बेलायतले हर्मुज क्षेत्रमा आफ्ना जहाजहरूको सुरक्षा गर्न एउटा युद्धपोत पठाउने घोषणा गरिसकेको छ। फ्रान्सले पनि आफ्नो युद्धपोत तैनाथ गरि सकेको छ ।

इरानको यो नयाँ चेतावनीले मध्यपूर्वमा तनाव अझ बढ्न सक्ने र विश्व बजारमा तेलको आपूर्तिमा समस्या आउन सक्ने देखिएको छ।

प्रतिक्रिया