सिंधुरी गाइले हानेर फुपू दिदीको भुँडी फुटायो आन्द्रा असरल्ल !

गङ्गा प्रसाद पौडेल २०८३ वैशाख २६ गते २२:१४ मा प्रकाशित

रामेछाप जयपुर डाँडाघर हाम्रो जीबा लक्ष्मीकान्त पौडेलले आफ्नो कान्छो छोरो दधिराम पौडेलको बिबाह गर्नको लागि आफ्नै माहिलो छोरो जगन्नाथ पौडेलको दुई बर्षकी जेठी छोरी नातिनी साटो गरेर ढापाली (लठेप्रा अर्धपागल )हेम सागरसँग १९८२ सालमा बिबाह गरिदिनु भएको थियो रे ! कान्छो छोरा दधिराम पौडेलको पनि सोही समयमा बिबाह भएको थियो रे । बाजेले २ बर्षे नातिनी दिएर ,१५ बर्षे बुहारी भित्र्याउनु भएको थियो रे !फुपू ६,७ बर्षको उमेरमै बालबिधवा हुनुभएको रहेछ । श्रीमान भनेको के हो ? भन्नेनै थाहा नपाई दिदीको त्यो हबिगत भएको रहेछ । बालबिधवा भएर माइतीको घरमा भाउजु, बुहारी छर्छिमेकीले दिने उपाधी शिरोधारण गर्दै माइतीघरमै बस्नु भएको रहेछ । मेरो जन्म २०२४ सालमा भयो । दुई बर्षपछि मेरी बहिनीको जन्म भयो । आमाको काखमा बहिनी भएकोले मलाई फुपूदिदीकै काख प्यारो थियोे । म फुपूकै काखमा हुर्किएँ । फुपूदिदीले मेरो दसौंबर्ष सेवा गर्नु भयो । दिदी हरेककाम बायाँ हातले गर्नु हुन्थ्यो तर खाना चैं दायाँ हातले खानु हुन्थ्यो । खाना सधैं दिदीले नै बनाउनु हुन्थ्यो । मेरो नाभि गाडेको ठाउँ छोड भन्नू हुन्थ्यो । अरुले भान्साको झन्जटमा बस्नै पर्दैनथ्यो । हजुरआमा र फुपूको त्यति ग्रह नै मिल्दैनथ्यो सायद सानै उमेरको बालबिधवा भएर ,सानै उमेरमा बिबाह गरिदिएर होला । दिदी घरभित्र पसेपछि हजुर आमा चापचुप बस्नु हुन्थ्यो ।

कुरो २०३६ सालको हो । म दिदीसँग बस्तुहेर्न सिमखेतमा भन्ने ठाउँमा गएको थिएँ । मान्के ,रागे, गोरुहरु र सिधुरी भन्ने रातो गाई चर्दै थिए । गाईका अगाडी फर्कीएका तिखै सिङ थिए । भित्तामा सित्तल थियो दिदी त्यहीँ बस्नु भएको थियो । गाईको गलामा किर्ना थिए, दिदी भित्तामा बसेरै गाईको किर्ना टिप्दै हुनुहुन्थ्यो । म र चारघरे कृष्ण भाइ थोत्रो कपडाको बल बनाएर फुपू बसेको माथ्लो गारोको नजिकै बलखेल्दै थियौं । दिदीलाई गाईले भित्तामा दलेर माथ्लो गह्रामा फालिदिएछ । दिदीको चिच्याहट सुने , गंङ्गा !! “मार्नु थियो मलाई मार्‍यौ “बाबुलाई बोला भन्नू भयो । दिदीको शरीर गह्रामा ,टाउको आलिमा झोलिएको थियो । म बालाई बोलाउन थाले ” बा! बा!! दिदीलाई गाईले हानेर मारो भनेर ” ३,४ पटक बोलाएँ , कराएँ,चिच्याएँ । नभन्दै होइ ! भनेर बुबा बोल्नु भयो । करिब 2,3कि मी जति टाढा, ठाडै तल चोक्टे खोलाको छेउमा घटना घटेको थियो । मेरो त्यो समयको रोदन,कम्पन ,छ्टफटाहट खै ! कसरी व्यक्त गरौं ??

बाको बोली सुन्दा मात्रै पनि मलाई दिदीलाई सकेको उद्वार गर्न राहत मिलो दिदीलाई आलिको सिरानी मिलाएँ । दिदीले भन्नू भयो “पानी ले नानी” अब केमा ल्याउनु ? भाइ कृष्णले उसको गोठको बाँसको खाली ढुङ्ग्रो ल्यायो । उ दिदीलाई माथ्लो गरामा डराउँदै कुरेर बस्यो । म पानी लिन बद्री बाको कुवामा ढुङ्ग्रो बोकेर गएँ,पानी ल्याएँ, बिरामीलाई सुतेकै अबस्थामा ,चिलाउनेको पातको खोचो बनाएर पानी पिलाएँ । दिदीको थोत्रे सारी माथि थिए आन्द्रा असरल्ल थिए ,रगत्याम्य सारी ,रगत्याम्य आन्द्रा , ,आन्द्रा कुनै मोटा कुनै साना ,सारी माथिबाट बगिरहेको रगत ,रगतको कारण घुमिरहेका झिंगा,खै कसरी व्यक्त गरौँ ?

दिदी होसमै हुँक्क ! हुँक्क रुदै हुनुहुन्थ्यो , ” यो ढाकिदे भन्नू भयो” तल्लो गह्रामा भएको उहाँकै मजेत्रो ल्याएर आन्द्रा ढाकिदिएँ । केहिबेरमै भित्ताबारीको खेत शिरिसको बोटनेरबाट बाहरुआएको देखेर,बोलेको सुनेर छिटो आउनुहोस् न दिदी मर्न लाग्नु भयो भन्दै चिच्याएको ,कराएको त्यो पल , हैट! त्यो मेरो 11 बर्षको उमेरमा गरिएको पहिलो ब्यक्तै गर्न नसकिने रेस्क्यु थियो । बिल्कुल पहिलो चीत्कार ! जीबनको कहिलै नबिर्सने हृदयबिदारक पहिलो घटना । एक शिक्षा ।

बुबा(देबी प्र ) लगायत जेठा( भुपहरी) बा ठुलाबा( टेक प्र)माहिलो बुबा(हरिकृष्ण ) तल्लाघर दाइ खुरहरी घटना स्थलमा आइपुग्नुभयो , बुबाका हातमा साना झिंजा थिए । खुकुरीको दापमा भएको झुलो ,चक्मक च्याट,च्याट पार्दै आगो निकाली गह्राको भित्तामा बाल्लु भयो , बाले दिदीलाई पानी खुवाउनु भयो । बुबाको खल्तीमा सधैं पात्रोमा गोपेर सियो, धागो बोक्नु हुन्थ्यो ।

त्यही ढुङ्ग्राको पानीले सबैले हात धुनु भयो । कर्दले नङ काट्नु भयो । पात्रोको सियो आगोमा रातो हुनेगरि पोल्नु भयो ।
मेरो ज्यान निरन्तर काँपेको थियो । मलाई के गर्दै छन् ? के के हुँदैछ ?? केही थाहा थिएन ।

बुबाको खल्तीमा भएको घरमा बनाइएको नयाँ जनै छिनाएर मोटो सियोमा उन्नु भयो । म बुबाको पछाडी बसेर काँप्दै सो दृश्यको एकोहोरो सुँक सुँक गरेर न्याउअ पर्दै नियाल्दै थिएँ ।

जेठाबा र बुबा बिरामी दिदीको दायाँ ( उ प) ठुलोबुबा र माहिलो बुबा बायाँ (दक्षिण ,पूर्ब ) बस्नु भयो ।

जब ठुलोबुबा,माहिलो बुबा, जेठाबाले बिस्तारै आन्द्रा पेट भित्र हाल्नु भयो नि तब मैले यथार्थ हेर्न पाएँ , दिदीको त नाईटो मुनीको पेटको भाग वर दायाँ देखि पर बायाँ सम्म छड्के छड्के पारेर गाईको सिँङ्ले चिरेको रहेछ ।

ठूलो बुबाले दिदीको पेट भित्र आन्द्रा हत्केलाले ढाक्ने बुबाले सियोले ठूलो बुबाको हात माथिबाट सियो छिराउदै वारि पारीको भाग जोडेर सिउदैधागो गाँठो पार्दै ,धागो कर्दले काट्दै , ठूलो बुबा हल्का हात सार्दै ,सोहिअनुरुप सिउदै जानू भयो । अन्त्यमा पेट भित्र आन्द्रा सजिलै अटाउन सकेन । वाहाँहरुले कुरा गर्दै हुनुहुन्थ्यो ” हावाले आन्द्रा फुली सकेछ्न भित्र अटाएनन ।” जसोतसो आँन्द्रा खाँदेर करिब ४ इन्च जति बाहिरको छाला मात्रै सिउनु भएछ । (करीब ३ इन्च जति आन्द्रालाई ढाकेर राक्ने कडा जालो सिउनु भएन छ) । त्यसपछी दिदीलाई डोलीमा बोकेर घर ल्याइयो । बिहान दिदी अफैले पकाएकोलुडेकोसाग र च्याख्लाको भात काएका थियौं । दिदीलाई घर ल्याएको केहिछिन पछी बिहान खाएको लुडेको सागभात बान्ता गर्नु भयो । म त्यहिदिन देखि लुडेको साग खादै खान्न । कहिकतै लुडेको साग देखोकी दिदीको याद आइहाल्छ ।

भोलिपल्ट गाउँका दाजुभाइ इष्टमित्रको सहयोगबाट दिदीलाई डोलीमा बोकेर बुबाहरुले रामेछाप हस्पिटल लिएर जानू भयो ।
२०३६ सालतिर रामेछाप हस्पिटलमा को को डक्टर हुनुहुन्थ्यो थाहा भएन। दिदीलाई हस्पिटलमा पुर्‍याए पछि डाक्टरले बिरामी बेडमा राख्न लगायो रे ! दिदीलाई सोध्यो रे ” वायु चलेको छकी छैन ? दिदीले छ भने पछि , डाक्टर स्याबास भन्यो रे । त्यसपछि तुरुन्तै दिदीलाई अप्रेसन कोठामा लगियो रे !बुबा बाहिरै बस्नु भयो रे । दिदीको अप्रेसन सकेर डक्टर बाहिर निस्किएपछि बुबाले डाक्टरलाई सोध्नु भयो रे ” डाग्डर साहेब दिदी बाँच्नु हुन्छ कि बाँच्नु हुन्न ?”

डाक्टरले भन्यो रे “म डक्टर , म भन्दा पहिले गाउँले सियोले आन्द्रा प्वाल नपारी सिउने तपाईं ” महान”डाक्टर , धन्यवाद ! म पढेको डाक्टर तपाईं परेको डाक्टर भनेर बुबालाई उपाधी दिएको थियो रे !

बुबाले गाउले सियोले सिएकै त्यहित्यही डोबमा डाक्टरले आधुनिक सियोले सिएको रहेछ रे !

एक महिनापछि बुबाले रामेछापबाट बोकेरै दिदीलिएर आउनु भयो । दिदीको घाउमा लाउने दबाई ” सिबाजल पाउडर” थियो ।

सो दबाई मैले पनि दिदीलाई एक दुई हप्ता लगाई दिएँ । फेरि घाउ पाके जस्तो भयो र बुबाले साँघुटार बोकेरै लानुभयो । १०,१२ दिनको उपचारपछि साँघुटारबाट दिदीलाई बोकेरै घर ल्याउनु भयो । दिदी को घाउको सुधार भयो ,हिड्न लाग्नु भयो तर पहिले सिलाउँदा आन्द्रा नअटाएर सिउन छुटेको ३ ईन्च जति आन्द्रा अड्याउने कडाजालो नसिएको सोही द्वार बनाएर बाहिर भुडिको छालालाई आन्द्राले ठेलेर उठेको हुन्थ्यो ,हिडेको , उठेको बेलामा करिब एक कुरुवाको जत्रो भ्वाक्क उठेको भाग देखिन्थ्यो । सुतेको बेला देखिदैनथ्यो । दिदी घरमा बसेर घरको हल्काफूल्का काम गर्न सक्नेहुनुभयो ।

३ बर्षपछि २०३९ साल कार्तिक महिनामा बाथ रोग,छारे रोग , पेटको रोगको कारण ५९ बर्षको उमेरमा दिदीको (हाम्रोघर) माइतीघरमै देहावसान भयो ।

२ बर्षको उमेरमा बिबाह, ७ बर्षको उमेरमा श्रीमानको किर्या गरेर बालबिधवाभै माइतमा भाउजू, बुहारी , गाउँलेले हानेका शब्दका बाँणको श्रीपेच पहिरेर हर्दम दुख ,यातना,पिडा सहेर बस्ने मेरी जेठी फुपू हजुरलाई हार्दिक श्रद्धाञ्जली !

सो समयमा मेरी फूपू दिदीलाई बोकेर रामेछाप हस्पिटल सम्म पुर्‍याउनु हुने सम्पूर्ण सहयोगी मनका धनी दाजुभाई जिवित ,मृत आदरणीय ,सम्माननिय,पुजनिय ,ढोगनिय सबैलाई ४८ बर्ष पछि हजुरहरुलाई सम्झिंएँ ,म केनै दिन सक्छुर सबैलाई मुरिमुरी धन्यवाद !!!!

प्रतिक्रिया