सान् फ्रान्सिस्कोमा परेडको तयारी अन्तिम चरणमा

ईश्वरी न्यौपाने २०८३ वैशाख २६ गते १०:०८ मा प्रकाशित

मे १० आइतवार सान् फ्रान्सिस्को नेपालमय हुने

सान् फ्रान्सिस्को, (क्यालिफोर्निया) मे ८, २०२६

मे महिनाको १० तारिख आईतवार क्यालिफोर्नियाको सान् फ्रान्सिस्को शहरमा हुने नेपाल डे परेडको तयारी अन्तिम चरणमा पुगेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको आयोजनामा हुने परेडका लागि सरकारी निकायबाट आवश्यक अनुमती एवं अन्य कामहरु पुरा भएको आयोजकका पदाधिकारीले जनाएका छन् ।

सान् फ्रान्सिस्को सिटी हलबाट सुरु हुने परेड एम्बारकडेरो प्लाजासम्म १ दशमलम ६ माइलको दुरीमा हुनेछ । सान फ्रान्सिस्को सिटीले शहरको केन्द्र भागमा रहेको मार्केट सडकमा परेड अवधिभर सवारी आवागमन बन्द गराएर पैदल यात्राका लागि उपलब्ध गराएको हो । बिभिन्न भेषभुषा र झाँकीको प्रदर्शनले सडक नै नेपालमय बनाईने एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष केपी ढकालले बताए । स्थानीय संघ संस्थाका पदाधिकारीहरुले सिटीका अधिकारीसँग कार्यक्रमको बिस्तृत स्वरुप जानकारी गराएर आवश्यक बन्दोबस्ती मिलाएका छन् । उनिहरुले परेडको सरुवात हुने सिटी हलदेखि मार्केट स्ट्रीटको अवलोकन तथा मञ्चस्थल एम्बरकाडेरो प्लाजा पुगेर भिडियोमार्फत कार्यक्रमको खाकाबारे जानकारी दिएका छन् ।

एनआरएनले डिसेम्बर २५, २०२५ मा सान् फ्रान्सिस्कोमा परेड गर्ने निर्णय गरेको हो । एनआरएनएको आग्रहपछी मार्च ८ मा सिटी अफ सान् फ्रान्सिस्कोले परेडका लागि अनुमती स्वीकृत गरेको थियो । परेडका लागि नेपाली झण्डा, फ्ल्याएर लगायतका सामाग्रिहरु नेपालबाटै आईपुगेको छ ।

परेडमा व्यक्तिगत रुपमा तथा संघ संस्थाको ब्यानर एवं जातीय पहिचान र भेष भुषामा मानिस आउने तयारी गरिरहेको नेपाल आदीबासी जनजाती महासंघ क्यालिफोर्निया अमेरिकाका महासचिव ज्ञानकाजी लामाले बताए । परेडमा नेपालको विविधता झल्कने पहिरन तथा संस्कृतिको प्रदर्शन हुने लामाको भनाई छ । पञ्चकन्या, पञ्चैबाजा, शंख ध्वनी, कुमारी, धिमे, लाखे लगायतको झाँकीसहित बिभिन्न सम्बन्धित संस्थाहरुबाट सहभागी हुन अन्तिम तयारी भईरहेको एनआरएनएका सचिव कैलाश केसीले जानकारी दिए । मञ्चको औपचारिक कार्यक्रममा केही साँस्कृतिक प्रदर्शनी पनि हुने भएको छ । यहाँस्थित स्थानीय युवा युवतीको नाचगानका साथै केही राष्ट्रियस्तरका नेपाली कलाकारको पनि सहभागिता रहने भएको छ ।

परेडमा सान् फ्रान्सिस्कोस्थित अन्य देशका महावाणिज्य दूताबासका कुटनीतिक अधिकारी, बे एरियास्थित सिटीका मेयरहरु, सिटी काउन्सिलर सदस्यको पनि सहभागिता हुने भएको छ । यसका लागि सान् फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूताबासले नै समन्वय गरिरहेको छ । एनआरएनको परेड नेपाली महावाणिज्य दूताबास सान् फ्रासिस्को को अभिभावकत्वमा नेपाली कम्युनिटी सेण्टर (नान्स) र नेपाली आदीबासी जनजाती महासंघको सहकार्यमा हुन लागेको हो । यि संस्थाको समन्वयमा बे एरियामा रहेका सम्पुर्ण संघ संस्थाहरु सहभागि हुने एनआरएनएका अध्यक्ष ढकालको भनाई छ ।

कार्यक्रमको तयारीबारे जानकारी दिन शनिवार साँझ नेपाली कम्युनिटी सेण्टरमा पत्रकार सम्मेलनको आयोजना गरिएको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिए ।

प्रतिक्रिया