अमेरिका र इरानबीच पुनः भिडन्त, युद्ध रोकिने संकेत अझै टुङ्गो लागेन

इनेप्लिज २०८३ वैशाख २५ गते २३:१३ मा प्रकाशित
Screenshot

शुक्रबार हर्मुज जलडमरू क्षेत्रमा अमेरिकी सेना र इरानी सेनाबीच रातभर दोहोरो गोली हानाहान भएको छ। 

अमेरिकी सेनाले इरानका दुईवटा तेल ट्याङ्करहरूलाई आक्रमण गरी कामै नलाग्ने बनाइदिएको जानकारी दिएको छ। यी इन्धन जहाज(ट्याङ्कर)हरुले अमेरिकाले लगाएको समुद्री नाकाबन्दी तोड्ने प्रयास गरिरहेका थिए।

यस भिडन्तले गर्दा एक महिनाअघि भएको युद्धविराम सम्झौता अब संकटमा परेको छ। अमेरिकाले अझै पनि युद्धविराम लागू नै छ भनिरहेको भए पनि जमिनमा भने तनाव बढिरहेको देखिन्छ। 

अमेरिकी विदेशसचिल मार्को रुबियोले इरानबाट शान्तिका लागि ठोस प्रस्ताव आउने आशा राखेको बताएका छन्। 

तर, अर्कोतर्फ संयुक्त अरब इमिरेट्सले इरानले फेरि क्षेप्यास्त्र र मानव रहित यान(मिसाइल र ड्रोन) बाट आक्रमण गरेको दाबी गरेको छ। युएईको रक्षा मन्त्रालयका अनुसार उक्त हमलामा तीन जना घाइते भएका छन्।

यो घटना किन महत्त्वपूर्ण छ?

हर्मुज जलडमरू संसारकै सबैभन्दा महत्त्वपूर्ण समुद्री बाटो हो, जहाँबाट धेरैजसो कच्चा तेल अन्य देशमा पुर्याइन्छ। 

फेब्रुअरी २८ देखि सुरु भएको युद्धका कारण इरानले यो बाटो प्रायः बन्द गरिदिएको छ। बाटो बन्द हुँदा विश्वभरि नै पेट्रोल र डिजेलको मूल्य निकै बढेको छ, जसले गर्दा सबै देशको अर्थतन्त्रमा असर परिरहेको छ।

अहिले अमेरिकाले इरानका बन्दरगाहहरूमा कडा नाकाबन्दी लगाएको छ। अमेरिका इरानले आफ्नो परमाणु कार्यक्रम रोकोस् र समुद्री बाटो पुनः खुल्ला गरोस् भन्ने चाहन्छ ।

 तर, लगातार भइरहेका यस्ता साना-ठूला भिडन्तले गर्दा शान्ति वार्ता सफल हुन्छ कि हुँदैन भन्नेमा अन्योल थपिएको छ। विश्वभरका मानिसहरू अहिले इरानले दिने जवाफको प्रतीक्षा गरिरहेका छन्।

यदि यो तनाव छिट्टै अन्त्य भएन भने अन्तर्राष्ट्रिय बजारमा महंगी अझै बढ्न सक्ने र जनजीवन थप कष्टकर हुने देखिन्छ।

प्रतिक्रिया