भर्जिनिया सर्वोच्च अदालतद्वारा नयाँ चुनावी नक्सा खारेज, डेमोक्र्याटलाई महाधक्का 

इनेप्लिज २०८३ वैशाख २५ गते २२:५४ मा प्रकाशित

भर्जिनिया, अमेरिका – भर्जिनियाको सर्वोच्च अदालतले शुक्रबार एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै नयाँ ‘कंग्रेसनल’ चुनावी नक्सालाई खारेज गरिदिएको छ। 

यो निर्णयले अमेरिकाको तल्लो सदनमा आफ्नो सिट संख्या बढाउने दाउमा रहेका डेमोक्र्याट दलका नेताहरूलाई ठुलो झड्का लागेको छ।

के थियो विवाद?

गत महिना भर्जिनियाका मतदाताहरूले एउटा मतदान (रेफरेन्डम) मार्फत नयाँ चुनावी नक्सालाई स्विकृति दिएका थिए। यदि यो नक्सा लागू भएको भए भर्जिनियाका ११ चुनावी क्षेत्रमध्ये १० वटामा डेमोक्र्याट दललाई जित्न सजिलो हुने थियो। अहिले भर्जिनियामा ६ जना डेमोक्र्याट र ५ जना रिपब्लिकन सांसदहरू छन्।

अदालतको ठहर

अदालतले आफ्नो फैसलामा भनेको छ , यो नक्सा बनाउने र जनतामा लैजाने प्रक्रिया नै गलत थियो। 

भर्जिनियाको संविधानको नियम पालना नगरी यो प्रस्ताव अघि बढाइएको हुनाले जनताले दिएको मतको पनि अब कुनै कानुनी मान्यता रहने छैन। “संविधान मिचेर संविधान बदल्न पाइँदैन,” भन्दै अदालतले स्पष्ट गरेको छ ।

नेताहरूको प्रतिक्रिया

रिपब्लिकन नेता रायन म्याकडुगलले अदालतको निर्णयको स्वागत गर्दै भने, “संसदले पनि कानुन मान्नुपर्छ भन्ने कुरा आज प्रमाणित भएको छ।” अर्कोतर्फ, डेमोक्र्याट नेता डोन स्कटले अदालतको निर्णयलाई सम्मान गर्ने बताए पनि ठुलो संख्यामा मतदान गर्न आउने जनतालाई धन्यवाद दिएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रिपब्लिकन दल र अमेरिकाको लागि “ठुलो जित” भनेका छन्। उता, सिनेटर टिम केनले भजनताको छनोटलाई अदालतले रोकेको भन्दै अब पुरानै नक्सामा चुनाव जितेर देखाउने चुनौती दिएका छन्।

यो विवाद केवल भर्जिनियामा मात्र सीमित छैन। 

अमेरिकाका टेक्सस र क्यालिफोर्निया जस्ता राज्यहरूमा पनि आफ्नो दललाई फाइदा हुने गरी चुनावी क्षेत्रको सीमा हेरफेर गर्ने प्रयास भइरहेका छन्।

 भर्जिनियाको यो फैसलाले देशभरकै राजनीतिमा नयाँ मोड ल्याउन सक्छ। 

भर्जिनियाको सर्वोच्च अदालतले शुक्रबार मतदाताहरूद्वारा अनुमोदित डेमोक्र्याटिक कंग्रेसनल निर्वाचन क्षेत्र निर्धारण योजनालाई खारेज गरेपछि उक्त भर्जिनियाकै डेमोक्र्याटिक सांसदहरूले सो फैसला विरुद्ध अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन गर्ने आशय अदालतलाई जानकारी गराएका छन्।

प्रतिक्रिया