
इरान युद्धका कारण विश्व अर्थतन्त्रमा ठुलो धक्का लागेको भए तापनि अमेरिकाको रोजगारी बजारले सबैलाई अचम्ममा पार्दै उत्साहजनक नतिजा निकालेको छ।
पछिल्लो महिना अर्थात अप्रिल महिना मात्रै अमेरिकामा १ लाख १५ हजार नयाँ रोजगारीका अवसरहरू सिर्जना भएका छन्।
अर्थविद्हरूले केवल ६५ हजार रोजगारी थपिने अनुमान गरेका थिए, तर वास्तविकता त्योभन्दा निकै राम्रो देखिएको छ। यद्यपि, मार्च महिनाको (१ लाख ८५ हजार) तुलनामा भने यो केही कम हो।
अहिले अमेरिकामा बेरोजगारी दर ४.३ प्रतिशत मात्र रहेको छ। इरान युद्धले गर्दा विश्वभर इन्धन आपूर्तिमा इतिहासकै सबैभन्दा ठुलो अवरोध पुगेको छ।
यसैका कारण अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४.५० डलरभन्दा माथि पुगेको छ। यति धेरै महँगी र युद्धको तनाव भए तापनि अमेरिकी श्रम बजारमा अहिलेसम्म खासै नराम्रो असर परेको देखिएको छैन।
तथ्याङ्कअनुसार, सबैभन्दा धेरै रोजगारी स्वास्थ्य क्षेत्रमा (३७,०००) र यातायात तथा भण्डारण क्षेत्रमा (३०,०००) थपिएका छन्। तर, सामान उत्पादन गर्ने कारखानाहरूमा भने २,००० रोजगारी घटेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले कलकारखानामा रोजगारी बढाउने नीति ल्याए तापनि पछिल्लो एक वर्षमा यो क्षेत्रमा ६६,००० रोजगारी गुमेका छन्।
कामदारहरूको प्रतिघण्टा कमाईमा पनि सामान्य वृद्धि भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले बढेको छ।
यसले बजारमा महँगी नियन्त्रण गर्न मद्दत पुग्ने देखिएको छ। तर, एउटा चिन्ताको विषय भनेको काम गर्न चाहने वा काम खोज्ने मानिसहरूको सङ्ख्या (कामदार बल )मा भने केही कमी आएको छ, जुन सन् २०२१ पछिको सबैभन्दा न्यून विन्दुमा पुगेको छ।
समग्रमा, युद्ध र महँगीको बीचमा पनि अमेरिकाले आफ्नो रोजगारीको गतिलाई जोगाएर राख्न सफल भएको छ ।
प्रतिक्रिया